Logo
Logo

जन्मिने वित्तिकै छोरीको बैंक खाता, बीस वर्षमा एक लाख २० हजार


दृष्टि संवाददाता


काठमाडौं । कालीकोटको खाँडाच्रक्र नगरपालिका–२ का नयाँ सुनार खेती किसानी र मजदुरी गरेर जीविकोपार्जन गर्नुहुन्छ । खेतीले वर्षभरी खान पुग्दैन् । आर्थिक अवस्था कमजोर भएपछि यो परिवारले मजदुरी नगरेसम्म चुल्लो बल्दैन । आम्दानी नभएपछि बैंकमा खाता र बचत त सम्भव भएन । तर यहीँ परिवारमा जन्मिएकी सानी छोरी जमुनाको भने बैंकमा खाता छ । खाता मात्र होइन्, पैसा पनि जम्मा भइरहेको छ ।

२०७६ पुस १ गते प्रदेश सरकारले जमुनाको बैंकमा खाता खोलिदिएको थियो । उक्त खातामा प्रदेश सरकारले हरेक महिना पाँच सय रुपैयाँ जम्मा गर्दै आएको छ । गाउँमा अहिले छोराको मोह बढी छ । हरेक परिवारमा छोराकै मोह गर्छन् । परिवारमा छोरी जन्मिदा नाक खुम्च्याउने गरिन्छ । तर, जमुनाको परिवारमा भने बेग्लै खुशी छ । कारण जमुनाको अभिभावक प्रदेश सरकार बनेको छ । परिवारले भन्दा पहिला प्रदेश सरकारले बैंकमा खाता खोलेर उनको सुन्दर भविष्यका लागि जग हालिदिएको छ ।

समाजमा छोरीहरुमाथिको विभेद कम गर्न र छोरीहरुलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले हाल बैंक खाता छोरीको, सुरक्षा जीवनरभरीको कार्यक्रम सञ्चालन गरिरहेको छ । यहीँ कार्यक्रममार्फत कर्णालीमा छोरीहरु जन्मिने वित्तिकै प्रदेश सरकारले बैंकमा खाता खोलेर रकम जम्मा गर्न थालेको हो । सरकारले छोरीको बैंकमा खाता खोलेर पैसा जम्मा गरिदिन थालेपछि हिजोआज छोरीप्रतिको दृष्टीकोण बदलिएको छ । छोरा मोहमा डुबेको समाज विस्तारै छोरीलाई सम्मान गर्न थालेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थित कालिकोटमा जमुनाको खाता खोलिएको थियो । प्रदेश सरकारले छोरी जन्मने वित्तिकै खातामा पैसा हाल्न थालेपछि जमुनाका बुवा नयाँ सुनारले भन्नुभयो, ‘यसअघि जन्मिएका छोराछोरीको बैंकमा खाता थिएन, पैसा नभएपछि खाता मात्र खोलेर के गर्नु रु तर प्रदेश सरकारले छोरी जमुनाको खाता खोलिदियो, हाम्री छोरीको खास अभिभावक त प्रदेश सरकार भयो ।’ आर्थिक अभावका कारण छोरीलाई पढाउन नसक्ने आफ्नो परिवारका लागि अब प्रदेश सरकारको सहयोगले छोरीले पढ्न पाउने उहाँले बताउनुभयो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ निवासी ओसिना रेग्मीकी छोरी सुवेक्षा अधिकारीको नाममा पनि बैंकमा खाता खुल्यो । उक्त खातामा प्रदेश सरकारले पैसा जम्मा गरिरहेको छ । जसले गर्दा छोरीको भविष्यका लागि अहिलेबाटै बचत हुन थालेको उहाँले बताउभयो ।

उहाँ भन्नुहुन्छ, ‘सरकारले नै महिनाको पाँच सय रुपैयाँ हालिदिन्छ । अब छोरीलाई पढाउदा खर्च हुने पैसा त्यही खातामा जम्मा हुने भयो । हाम्री छोरीको चिन्ता प्रदेश सरकारले गरिदियो, सरकार नै छोरीले अभिभावकको रुपमा पाइन् ।’ प्रदेश सरकारले नै छोरीको भविष्यबारे सोचर लगानी गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

कर्णालीमा अहिले पनि छोरीमाथि गर्भदेखि नै विभेद छ । शिक्षित परिवारले नै गर्भमा छोरी भए भ्रणहत्या गर्ने र छोरा भए जम्माउने गर्दछन् । साथै छोरीलाई नपढाउने र चाँडै बिहे गरिदिने प्रचलन कर्णालीमा छ । यही कारणले प्रदेश सरकारले छोरीलाई उच्च शिक्षा दिलाउन, सम्भावित हिंसा रोक्न र बालबिवाह न्यूनिकरण गर्न यो कार्यक्रम सञ्चालन गरेको हो । रुकुम पश्चिमको मुसिकोटका यामबहादुर खत्रीले पनि प्रदेश सरकारले सञ्चालन गरेको यो कार्यक्रमले आफ्नो छोरीको सुन्दर भविष्यको बाटो खुलेको बताउनुभयो । उहाँको छोरी शारा खत्रीको नाममा पनि प्रदेश सरकारले बैंकमा खाता खोलिदिएको छ ।

उहाँले भन्नुभयो, ‘हामी आफैँले पनि छोरीका लागि सोच्नुपर्ने हो, तर प्रदेश सरकारले नै छोरी जन्मिने वित्तिकै बैंकमा खाता खोलिदियो । छोरी हाम्रो भए पनि प्रदेश सरकाले अभिभावकको भूमिका निर्वाह गरेको छ, यसले छोरीको भविष्य सुरक्षित भयो ।’ कर्णाली प्रदेश सरकारले छोरीहरूको आर्थिक तथा सामाजिक सुरक्षाका लागि आफैँले रकम बचत गरिदिने योजना कार्यान्वयनमा ल्याएपछि बैंकमा छोरीको खाता खोलिएको छ ।

प्रदेश सरकारका अनुसार २०७६ साउन यता जन्मिएका सबै छोरीहरुको बैंकमा खाता खोलिएको छ । यो कार्यक्रम छोरीको सामाजिक न्यायका लागि विशेष मानिएको छ । महिलाहरुको उत्थान, शसक्तिकरण, समग्र विकास तथा बालिकाहरुमाथिको लैङ्गिक विभेद अन्त्य गर्न, सामाजिक कुसंस्कारको रुपमा रहेको बालबिवाह रोक्न, भु्रण हत्या रोक्न, बालिकाहरुको स्नात्तकसम्मको पढाई सुनिश्चित गर्न बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिँदै आएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्