Logo
Logo

इंग्ल्यान्ड डेनमार्कलाई हराउँदै युरो-२०२० को फाइनलमा


दृष्टि संवाददाता


लन्डन । इंग्ल्यान्ड युरो–२०२० को फाइनलमा पुगेको छ । डेनमार्कलाई २–१ ले हराउँदै इंग्ल्यान्ड युरो–२०२० को फाइनलमा हो । बुधबार राति लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको सेमिफाइनलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा हराएको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

डेनमार्कले खेलको ३०औं मिनेटमा मिकेल ड्याम्स्गार्डको गोलमा अग्रता लिएको थियो । तर त्यसको ९ मिनेटमै इंग्लिस खेलाडी बुकायो साकाको क्रसलाई रोक्ने क्रममा डेनमार्कका सिमोन जायरले आत्मघाती गोल गर्न पुगेका थिए ।

खेलको १०३औं मिनेटमा डेनमार्कका योकिम मिहलले रहिम स्टर्लिङलाई डिबक्स एरियामा फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो । इंग्लिस कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा पुर्‍याउन सफल भए ।

पहिलो प्रहार डेनिस गोलरक्षक कास्पर्स माइकलले रोके पनि रिबाउन्ड भएर आएको बललाई केनले गोलमा परिणत गरेका थिए । योसँगै केनले अन्तर्राष्ट्रिय खेलमा ग्यारी लिंकरको १० गोलको रेकर्डसँग बराबरी पनि गरेका छन् । इंग्ल्यान्ड र डेनमार्कबीचको सेमिफाइनल खेल हेर्न वेम्ब्लीमा करिब ६६ हजार दर्शक उपस्थित भएका थिए ।

सन् १९६६ को विश्वकपको उपाधि जितेयता इंग्ल्यान्डले ठूला प्रतियोगिताको फाइनलसम्म पनि पुग्न सकेको थिएन । सन् १९६६ को विश्वकपमा इंग्ल्यान्डले पश्चिम जर्मनीलाई हराएर उपाधि जितेको थियो ।

इंग्ल्यान्डले अब फाइनलमा इटालीको सामना गर्नेछ । फाइनल खेल पनि आइतबार राति १२स्४५ बजे वेम्ब्ली रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्