Logo
Logo

चीनबाट १० लाख मात्रा ‘भेरोसेल’ खोप ल्याइँदै


दृष्टि संवाददाता


काठमाडौं । सरकारले चीनसँग कोरोनाविरुद्ध खोप खरिदका लागि गरेको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा ‘भेरोसेल’ खोप भोली नेपाल आउँदै छ ।

खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो ।

नेपाल बायुसेवा निगमको फ्लाइट सेडुअलअनुसार आज (बिहीबार( खोप लिन निगमको जहाज चीन प्रस्थान गर्नेछ । सरकारले चीनबाट भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको थियो । हालसम्म चीनबाट मात्रै १८ लाख मात्रा खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार भेरोसिल खोप उमेर समूहको प्राथमिकताका आधारमा लगाइनेछ ।

अबको प्राथमिकतामा ६० वर्षमुनिका नागरिक पर्ने डा. पोखरेलको भनाई छ । कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पर्छन् ।

वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोगी भएका व्यक्ति पनि दोस्रो प्राथमिकताको सूचीमा पर्छन् । ६० वर्षमाथिका केहीले अझै खोपको पहिलो मात्रा नलगाएको भन्दै उनीहरू पनि प्राथमिकतामा पर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्रोतका अनुसार निकट भविष्यमै कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एन्ड जोन्सनबाट उत्पादित १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आउनेछ । खोप कहिले आउने भन्ने ठोस भने भएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले २४ असारबाट खोप आपूर्ति सुरु भई तत्पश्चात् साप्ताहिक रूपमा विभिन्न चरणमार्फत् खोप आपूर्ति हुनेछ । सरकारले आगामी पुसभित्र आमनागरिकलाई कोरोनाविरुद्ध खोप लगाइसक्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्