Logo
Logo

एमाले कार्यदलको बैठक आज पनि बस्दै


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज (विहिबार) पनि बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।

नेताहरुले सोमबारदेखि लगातार बसिरहेको बैठक निष्कर्ष नजिक रहेको बताउँछन् । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले आजसम्म विवाद टुंग्याउने गरि लाग्ने बताइसकेका छन् । विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र आजसम्म टुंगिने ज्ञवालीको भनाई छ ।

कार्यदल निष्कर्ष नजिक पुगेसँगै हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । पछिल्लो समय निकै कटुतापूर्ण सम्बन्धमा रहेका ओली र नेपालबीच बुधबार साँझ काठमाडौंको नागपोखरी, नक्सालस्थित मेरियट होटलमा झण्डै दुई घण्टा वान टु वान वार्ता भएको थियो । तर एमालेका दुई शीर्ष नेताबीचको यो वार्ता निष्कर्षविहीन बन्यो ।

वार्तापछि ओली र नेपालले कुनै प्रतिक्रिया दिएनन् । तर वार्ताअघि ओली र नेपालसहित मेरियटमै भएको संयुक्त छलफलमा सहभागी एमालेका दोस्रो तहका नेताहरु भने बुधबार साँझको वार्ताबाट आशावादी देखिका छन् । दुई अध्यक्षबीचको कुराकानीका आधारमा आज कार्यदलको बैठकमा थप छलफल हुने बताइएको छ ।

कार्यदलमा दुवैपक्षका पाँच, पाँच जना नेता छन् । ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन् । नेपाल पक्षबाट कार्यदलमा नेता भीम आचार्य थप भएका छन् । गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल गठन भएको थियो ।

‘ओली विश्वास गर्न लायक पात्र होइनन्’
बरिष्ठ नेता नेपालले ओलीलाई पार्टीभित्रै पुनर्संरचना गर्नुपर्ने प्रस्ताव राखेका थिए । नेपालले राखेको प्रस्तावमा ओली मौन बसेका स्रोतको भनाई छ ।

ओलीसँग नेता नेपालले सांगठनिक रुपमै शक्ति बाँडफाँडको कुरा गरेका थिए । उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर सो कुरा गर्दा ओली सकारात्मक नभएको स्रोतको भनाई छ । ‘सोच्नुस्, फेरि कुराकानी गरौंला’ भन्दै नेपाल उठेर हिँडेपछि ओलीले केही बेर कार्यदलका सदस्यसँग छलफल गरेका थिए ।

पछिल्लो समय नेपाल ओली विश्वास गर्न लायक पात्र होइनन् भन्ने अवस्थामा पुगेका छन् । ‘त्यसैले उनी ओलीका आश्वासनलाई पत्याइहाल्ने अवस्थामा छैनन् ।’, एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस्