Logo
Logo

चोयाको सामग्री बनाउनेलाई आर्थिक सहयोग


दृष्टि संवाददाता


फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थानीय सीपको सम्मान गर्दै चार जनालाई आर्थिक सहयोग गरेको छ । चोयाबाट विभिन्न सामग्री निर्माण गर्ने सीप भएका सिरिजङ्घा–४ तेल्लोकका चारजनालाई सीपको सम्मान गर्दै आर्थिक सहयोग गरिएको हो ।

गाउँपालिकाले ‘गाउँमै रोजगार, गर्वको आधार’ कार्यक्रममार्फत स्थानीयवासीलाई सीपको सम्मानका साथै प्रोत्साहित गर्न अनुदान सहयोग गरेको जनाएको छ । वृद्ध अवस्थाका चारजनालाई जनही रु ४० हजारका दरले अनुदान सहयोग उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । उनका अनुसार सहयोग पाउनेमा तेल्लोकका ८१ वर्षीय श्रीमान गुरुङ, ७१ वर्षीय मनप्रसाद गुरुङ, ६६ वर्षीय खड्गबहादुर गुरुङ र ६० वर्षीय पेम्बा शेर्पा छन् ।

उनीहरुले बाँस तथा मालिङ्गोको चोयाबाट डोको, ढाकी, घुम, खरेटो, बिनायोजस्ता सामग्री निर्माण गरेबापत गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गरेको जनाएको छ । स्थानीय सीप र सामग्रीको प्रयोग बढाउन तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने योजनाअनुसार ‘गाउँमै रोजगार, गर्वको आधार’ नामक कार्यक्रममार्फत सहयोग गरेको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए । सहयोग पाउने गुरुङत्रय र शेर्पाले निर्माण गरेको चोयाको सामग्रीको नमूना गाउँपालिका कार्यालयमा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्