Logo
Logo

हतियार बोकेर सडकमा निस्किए अफगान महिला


दृष्टि संवाददाता


काठमाडौं । विद्रोही तालिवान समूहविरूद्ध हतियार बोकेर अफगानिस्तानको उत्तरी तथा मध्य भागका महिलाहरू सडकमा निस्किएका छन् ।

कट्टरपन्थी तालिवानविरूद्ध सयौं महिलाहरू राइफल बोकेर सडकमा निस्किएका हुन् । उनीहरूले हतियारसहितका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । सडकमा उनीहरूले हतियार देखाउँदै तालिवानविरोधी नाराहरू पनि लगाएका छन् ।

अमेरिकी र नाटो सैनिकहरू फिर्ता भएपछि पछिल्लो समय तालिवानले अफगानिस्तानका झन्डै एक तिहाइ जिल्लालाई नियन्त्रणमा लिएका छन् ।
सडकमा निस्किएका महिलाहरूसँग देशव्यापी रूपमा तालिवानविरूद्ध अग्रपंक्तिमा गएर लड्न सक्ने अनुभव त छैन तर उनीहरूको प्रदर्शनले तालिवानको सम्भावित शासनबारे उनीहरू कति त्रसित छन् भन्ने देखाउँछ ।

‘केही महिलाहरू सुरक्षाकर्मीलाई हौसला दिन प्रतीकात्मक रूपमा हतियार बोकेर सडकमा निस्किएका हुन् तर धेरै महिलाहरू त युद्ध मैदानमै जान तयार छन्,’ घोर प्रान्तमा महिला प्रदर्शनको नेतृत्व गरेका हालिमा पारास्तिसले भनेकी छन्,‘युद्ध मैदानमा जानेमध्ये म पनि हुँ । हामीले यसअघि नै यहाँको गभर्नरलाई हामी लड्न तयार छौं भनेर जानकारी गराइसकेका छौं।’

अफगानिस्तानमा महिलाहरू यसरी हतियार बोकेर सडकमा निस्कने घटना बिरलै हुन्छन् । समाचार संस्था एसोसियट प्रेसका अनुसार उत्तरी अफगानिस्तानमा तालिवान लडाकुहरूले धेरै क्षेत्र नियन्त्रणमा लिएपछि सरकारी सुरक्षाकर्मीहरू भागेर छिमेकी ताजिकिस्तान पुगेका छन् ।

उत्तरी प्रान्त बादखसानबाट झन्डै तीन सय अफगानी सुरक्षाकर्मी भागेर आफ्नो सीमाभित्र आइपुगेको ताजिकिस्तानले जनाएको छ । शनिबार साँझ साढे ६ बजेतिर अफगानी सुरक्षाकर्मीले सीमा पार गरेका थिए । भागेर आएका सुरक्षाकर्मीलाई मानवीयता र असल छिमेकीका नाताले शरण दिएको ताजिकिस्तानको भनाइ छ ।

२० वर्षदेखि अफगानिस्तानमा सेना पठाएको अमेरिकाले पछिल्लो समय आफ्ना सैनिकहरू फिर्ता लिइरहेको छ । यही वर्ष सबै सैनिक फिर्ता लिने तयारी गरिरहेको अमेरिकाले गत शनिबार बागराम एयरबेस अफगानिस्तानलाई हस्तान्तरण गरेको थियो । अमेरिका र नाटो मुलुकका सेना फर्किएपछि तालिवानहरूले विभिन्न जिल्लामा धावा बोलेका हुन् ।

कतिपय ठाउँमा भने सरकारी सुरक्षाकर्मीहरूले आत्मसमर्पण गरिरहेका छन् । केही ठाउँमा त तालिवानी लडाकुहरूले सुरक्षाकर्मीलाई घरसम्म जान पैसा दिएको भिडिओ पनि सार्वजनिक भएका छन् । यसले सुरक्षाकर्मीलाई ज्यान जोखिममा नराखिकनै जागिर छोड्न सकिने आत्मविश्वास दिएको छ ।

उत्तरी प्रान्त बादखसानका प्रदेश काउन्सिल सदस्य मोहिब उल रहमानले महत्वपूर्ण सामानको अभावमा खटिएका सुरक्षाकर्मीको कमजोर आत्मबलका कारण पनि तालबानीहरूलाई सजिलो भएको बताएका छन् । ‘दुर्भाग्यवश, धेरैजसो जिल्लाहरू बिनालडाइँ तालिवानलाई छोडिएको छ,’ रहमानले एपीसँग भने ।

तालिवानहरूले अहिलेसम्म कुनै प्रान्तीय राजधानी भने नियन्त्रणमा लिएका छैनन्। तर जसरी उनीहरू अघि बढिरहेका छन् त्यसले छिटै बादखसानको राजधानी नियन्त्रणमा लिन सक्ने सम्भावना छ । ट्विन टावरमा आक्रमण भएपछि सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा सैनिक पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्