Logo
Logo

मन्त्रीकाे राजीनामा माग्दै एमालेद्वारा कर्णाली प्रदेशसभा अवरुद्ध


दृष्टि संवाददाता


सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको बिहीबारको बैठक अवरुद्ध गरेको छ । बिहीबारको बैठक सुरु हुनबितिकै एमालेका प्रदेशसभा सदस्यहरु उठेर विरोध जनाएका थिए । आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राखेर एमालेले सदन अवरुद्ध गरेको हो ।

एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने जनाएका छन् । बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री दल रावलले आफ्नो पार्टीले उठाएको मुद्दाको उचित तवरले सम्बोधन हुनुपर्ने बताए।

आफ्नो पार्टीले नैतिक ढंगले राजनीतिक मुद्दा उठाएको र यस बिषयमा प्रदेश सरकारले ध्यान दिन नसकेको उनले बताए । उनले देशको अर्थतन्त्र मजबुद गराउनेदेखि सामाजिक सुरक्षाका कामहरु केपी ओली सरकारले मात्र गरेको दावी गरे । उनले कर्णालीको अन्तराष्ट्रिय स्तरमा छवी विग्रनेगरी कर्णालीको सरकार अघि नबढोस् भन्दै सदनको कामकारवाही अघि बढाउन नदिने बताए ।

सभामुखले पटक–पटक आसनग्रहण गर्न आग्रह गर्दा पनि एमालेका प्रदेशसभा सदस्यहरुले उठेर विरोध जनाएपछि असार २७ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

जेठ २७ गते सर्वोच्च अदालतले पदमुक्त भएका चारै जनालाई एमाले सांसदको रूपमा पदमै रहन अन्तरिम आदेश दिएपछि एमाले संसदीय दलको बैठकले मन्त्रीबाट फिर्ता आउन निर्देशन दिएको थियो । यद्यपि तीनैजना मन्त्री सरकारबाट फिर्ता भएका छैनन् । उनीहरुले तत्काल सरकारबाट नहट्ने अडान लिएका छन् । जस्ले गर्दा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्