Logo
Logo

अब हिमालय एअरलाइन्स्बाट आफ्नो फ्लाइट टिकट अनलाइन बुक गर्नुहोस् !


दृष्टि संवाददाता


काठमाडौं । नेपाल–चीन संयुक्त लगानीको एक निजी एअरलाइन्स्, हिमालय एअरलाइन्स्ले हालै आफ्नो अनलाइन टिकट बुकिङ इञ्जिन सुरू गरेको छ, जसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एअरलाइन्स्को वेबसाइट https://him-air.com बाट बुकिङ गर्न सक्नेछन् । यसले ग्राहकलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुनेछ ।

अहिले यो सेवा प्रारम्भिक चरणमा भएकाले कनेक्ट आइपीएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाणपत्र, निःशुल्क टिकट एक्सचेन्ज, इ–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिन सक्नेछन् । एअरलाइन्सले सम्बन्धित अन्य सहायक सेवाजस्तै ब्यागेजको पूर्व बुकिङ, सिट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता आगामी चरणमार्फत् नवीनतम सेवा सुरु गर्ने योजना एयरलाइन्सले बनाएको छ ।

नयाँ वेबसाइट सुरूवातबारे टिप्पणी गर्दै अध्यक्ष जोउ इन्योङ्ले भने, अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरी हाम्रो नयाँ बि–टु–सी वेबसाइटको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं । यो वेबसाइट हिमालयको निरन्तर अविष्कारको संस्कृति र हाम्रो उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्घताको परिणाम हो । वास्तवमा यस प्लेटफर्मलाई तयार गर्न लकडाउनको अवधि प्रयोग गरिरहेका थियौं र अहिलेको कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै हामी हाम्रा यात्रुहरूको भौतिक सम्पर्करहित बुकिङ र यात्रा सुविधाको आवश्यकताबारे राम्ररी बुझ्दछौँ । ।”

त्यस्तै उपाध्यक्ष विजय श्रेष्ठले भने, “यो कम्पनीको लागि महत्वपूर्ण उपलब्धि भएको हिमालय सधैं आफ्नो ग्राहकसँग नजिकको सम्बन्ध कायम राख्न समर्पित छ । सुविधाजनक टिकट ब्राउज र बुकिङ अनुभवको निम्ति यो प्लेटफर्म हाम्रो कम्पनीको लागि कोसेढुंगा साबित हुनेछ ।” नयाँ सेवाबाट हिमालयले आफ्ना ग्राहकका लागि सहज र निर्बाध टिकट बुकिङ अनुभव सुनिश्चित गर्नका लागि तयारी गर्दै रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्