Logo
Logo

कमिशनले डोटीको शिखर नगरपालिकामा खानेपानी योजना गुणस्तरहीन


दृष्टि संवाददाता

9k
Shares

डोटी । जिल्लाको शिखर नगरपालिका–४, ५ र ६ अन्तर्गत पर्ने तिजाली–मुडभरा–पच्नाली खानेपानी आयोजनाको काम गुणस्तरहीन भएको आरोप लागेको छ ।

खानेपानी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आफूले काम नगरी पेटी ठेकेदारलाई पटक–पटक उक्त योजना बिक्री गरेर काम गराउँदा कम गुणस्तरको काम भएको तथ्य बाहिर आएको छ । ठेक्का पाएको नागार्जुन जेभिआर कम्पनीले उक्त योजनाको काम पेटी ठेक्कामार्फत कमसल खालका सामग्री प्रयोग गरी गराउँदा काम गुणस्तरहीन भएको स्थानीयवासीको आरोप छ । ठेक्का पाएको निर्माण कम्पनीले रु दुई करोड ९१ लाख ४९ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

सो कम्पनीले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभागको क्षेत्रीय कार्यालय धनगढीसँग छ महिनामा काम सम्पन्न गर्ने गरी विसं २०७७ असोज ९ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले सम्झौता गरेको उक्त योजनाको काम २०७७ चैत ८ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको भए पनि सम्झौता अवधिभित्र काम सम्पन्न हुन नसकेको स्थानीयवासी बताउँछन् ।

स्थानीयवासीका अनुसार ठेक्का सम्झौताअनुसारको काम गर्नुपर्ने निर्माण कम्पनी जेभिआरले पेटी ठेकेदारलाई ठेक्का बेचेकाले समयमै काम सम्पन्न हुनसकेको देखिँदैन । ठेक्का पाएको सो कम्पनीका प्रतिनिधि तथा दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी घनश्याम पाठकले उक्त योजना जोरायल गाउँपालिका–१ घण्टेश्वर बस्ने खेमबहादुर मगरलाई बिक्री गरेको तथ्य बाहिर आएको छ । पाठक पहिलो पक्ष बनेर दोस्रो पक्ष खेमबहादुर मगरलाई ठेक्का रकमको ६० प्रतिशत पाउने गरी बिक्री गरेको लिखित प्रमाण फेला परेको छ ।

यसैगरी खेमबहादुरले आफूले पाएको ठेक्का पनि कमिशनका आधारमा तेस्रो व्यक्तिलाई बिक्री गरेको पाइएको छ । यसरी निर्माण कम्पनीले ठेक्का सम्झौताअनुसार काम नगर्दा र कमिशनका आधारमा पेटी ठेकेदारलाई काम बेच्दा समयमा उक्त काम नसकिने र काम पनि गुणस्तरहीन हुने देखिएको स्थानीयवासी रामबहादुर खत्रीले बताए । सोही ठेक्कालाई फेरि जोरायल गाउँपालिका–३ सरस्वतीनगर बस्ने लीला ओलीलाई दोस्रो पक्ष बनाएर खेमबहादुरले बिक्री गरेको प्रमाण पनि फेला परेको छ ।

उनीहरुबीच विसं २०७७ कात्तिक १ गतेका दिन लिखित कागज भएको प्रमाण फेला परेको छ । खेमबहादुरले लीलालाई उक्त योजना रु एक करोड ३० लाखमा बिक्री गरेको देखिन्छ । मगरले पनि ठेक्काको ६० प्रतिशत पाउने गरी तिजाली–पच्नाली–मुडभरा खानेपानी आयोजना बेचेको पाइएको छ । खेमबहादुरले पाएको ठेक्का फेरि कमिशनका आधारमा तेस्रो व्यक्तिलाई समेत बिक्री गरेको पाइएको हो । रु दुई करोड ९१ लाखको ठेक्कालाई रु एक करोड ७० लाखमा बिक्री गरेर काम गरिरहेको अर्का स्थानीयवासी शिवराज भट्टको आरोप छ ।

यसरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले कमिशन लिएर ठेक्का बेच्दा र कमिशनै कमिशनमा योजना निर्माण हुँदा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरेर काम भएको हुनसक्ने उनको बुझाइ छ । सो खानेपानी आयोजनाका अध्यक्षको मृत्यु भएकाले हरेक आर्थिक गतिविधिलाई सञ्चालन गर्न नसकिएका कारण ठेकेदारले अन्य उपभोक्तालाई हातमा लिएर काम गरेकाले गुणस्तरमा खस्किँदो अवस्था देखिएको स्थानीयवासी बताउँछन् ।

यस विषयमा निर्माण कम्पनीका प्रतिनिधि घनश्याम पाठकसँग बुझ्दा उनले आफूले उक्त योजनाको काम पेटी ठेक्कामार्फत ४० प्रतिशत निर्माण कम्पनीको हुने र ६० प्रतिशत पेटी ठेकेदारको रहने गरी काम दिएको स्वीकार गरे । उनले भने, “मैले पेटी ठेक्कामा काम दिएको हूँ, पेटी दिएकाले के–के गरे थाहा भएन, नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले १५ प्रतिशत रकम मागेकाले समस्या भएको हो ।” काम पेटी ठेक्कामार्फत दिएको भए पनि लाग्ने सामग्री तथा खर्च आफूले तिर्ने उनले जानकारी दिए ।

उता सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनगढीका प्रमुख प्रकाश रावलले खानेपानीको काम सम्झौताअनुसार नभए र गुणस्तरीय काम नभएको भए बिल पास नहुने बताए । उनले भने, “उक्त योजनाको अनुगमनका लागि दुई कर्मचारी फिल्डमा गएका छन्, सम्झौताअनुसारको काम नभएको भए बिल पास गरिन्न ।” शिखर नगरपालिकाअन्तर्गत पर्ने तिजाली– पच्नाली–मुडभरा खानेपानी आयोजनाको १२ हजार लिटरको फिल्टरेशन ट्याङ्की निर्माणका लागि उक्त बजेट विनियोजन गरिएको थियो । बजेटअनुसारको काम नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्