Logo
Logo

बिग्रेको कपालका लागि ‘केराटिन ट्रिटमेन्ट’


डा. रेखा थापा


कपाल नारीको प्राकृतिक गहना हो । सिल्की र मुलायम कपाल हरेक महिलाको चाहना हुन्छ । कपाललाई राम्रो, आकर्षक र विभिन्न स्वरुप प्रदान गर्ने प्रचलनले कपालमा समस्याहरु बढेका छन् । हेयर स्टाइलका कारण ‘ड्राई, ड्यामेज र फ्रिजी’जस्ता समस्याले धेरैलाई सताएको छ । ‘केराटिन ट्रिटमेन्ट’ यस्ता समस्याको समाधान हो । आज यसैबारे चर्चा गरौँ ।

के हो केराटिन ट्रिटमेन्ट ?

सलोनहरुमा गरिने ‘केराटिन ट्रिटमेन्ट’ विज्ञ र व्यवसायिक सेवा हो । यो पद्धतिको उपचारबाट सुख्खा, ड्यामेज र वेजान कपालले पुर्नजीवन पाउँछ । यो पद्धतिबाट गरिने उपचारले ४ देखि ६ महिनासम्म काम गर्छ । केराटिन ट्रिटमेन्टबाट कपालले प्रोटिन प्राप्त गर्ने भएकाले जरैबाट स्वस्थ र मजबुत बनाउँछ । त्यसपछि कपाल सिल्की, मुलायम र चम्किलो हुन्छ ।

कपाल किन खराब हुन्छ ?

क्यूटिकल, कोर्टेक्स र मेडुला, कपालका तीन तह हुन् । क्यूटिकल सबैभन्दा बाहिरी तह हो । जसले भित्री तहहरुको सुरक्षा गर्छ । हामीले कपालमा प्रयोग गर्ने केमिकल (कलर, रिलाक्सर, ब्लण्डर) क्यूटिकलबाट भित्री भागसम्म पुगेर काम गर्छ । यस्ता केमिकलहरुले क्यूटिकललाई कमजोर बनाउने हुँदा कपालमा विभिन्न समस्या देखापर्छ । त्यस्तै, आइरन रड, तातो पानी, कडा केमिकल भएको स्याम्पू, घाम, प्रदुषण आदिले पनि क्यूटिकल कमजोर हुँदा कोर्टेक्समा भएको ‘फाइब्रस प्रोटिन’मा ह्रास आइ कपाल टुक्रिने, सुख्खा हुने ड्यामेज हुने जस्ता समस्या हुन्छ ।

केराटिन के हो ?

केराटिन भनेको एक प्रकारको ‘फाइब्रस प्रोटिन’ हो । यो प्रोटिन प्राकृतिक रुपमा हाम्रो छाला, कपाल र नङमा हुन्छ । यसले ‘इपीथेलियम सेल’हरुको सुरक्षा गर्छ । कुनै केमिकल वा अन्य बाह्य कारणले यो प्रोटिनमा ह्रास आउँदा कपालमा समस्या उत्पन्न हुने गर्दछ ।

केराटिन ट्रिटमेन्ट केमिकल स्ट्रेटनिङ भन्दा फरक छ ?

धरैलाई ‘केराटिन ट्रिटमेन्ट र केमिकल रिलाक्सर (स्ट्रेनिङ)’को काम एउटै भन्ने लाग्छ । तर, यी दुवै प्रोडक्ट तयार गर्न प्रयोग गरिने सामग्री र परिणाम फरक हुन्छ । त्यसैले यी दुई फरक नै हुन् ।

केमिकल स्टे«टनिङले कपालको कोर्टेक्समा भएको ‘डाइसल्फाइड बोण्ड’लाई ब्रके गरेर नयाँ स्वरुप दिन्छ । जस्तै, कर्ली कपाललाई स्थायी रुपमा सिधा बनाउने काम गर्छ । यो एकपटक गरेपछि सधैँका लागि हुन्छ । तर, ‘केराटिन ट्रिटमेन्ट’ले स्वरुप परिवर्तन गर्दैन । अर्थात, कर्ली कपाललाई सिधा बनाउने काम गर्दैन । यो ‘प्रोटिन ट्रिटमेन्ट’ हो । यसले कपालमा प्रोटिन प्रदान गरी सुख्खा र फुस्रो कपाललाई सिधा, मुलायम र चम्किलो बनाउँछ । एकपटक गरेपछि ४ देखि ६ महिनासम्म रहन्छ । त्यसपछि पुनः केराटिन ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ ।

कसरी गरिन्छ केराटिन ट्रिटमेन्ट ?

सबैभन्दा पहिले कपाललाई स्याम्पू गर्नुपर्छ । त्यसपछि, कपाललाई सुख्खा बनाएर केराटिन लगाउनुपर्छ । केराटिन लगाएको ४० देखि ४५ मिनेटपछि ‘ब्लो ड्राई’ र ‘सेरामिक कोट’ भएको फ्ल्याट आइरन गर्नुपर्छ । यसले केराटिन प्रोटिनलाई भित्रसम्म पु¥याई लक गरिदिन्छ ।

केराटिन गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरु

– केराटिन ट्रिटमेन्टमार्फत कपाललाई कृत्रिम रुपमा प्रोटिन प्रदान गरिने भएकाले यसलाई सकेसम्म बचाइराख्नुपर्छ ।
– सल्फेट, सोडियम र प्याराविन नमिसाइएको सेम्पू तथा कन्डिसनर प्रयोग गर्नुपर्छ ।
– केमिकलहरुले प्रोटिनमा ह्रास पु¥याउने भएकाले कलरीङ, हाइलाइटिनिङ, स्टे«टनिङ तथा पर्मिङ आदि गर्नु हुँदैन ।
– तातो आइरन तथा रडहरु प्रयोग गर्नु हुँदैन ।
– तातो पानीबाट बचाउनुपर्छ । अत्याधिक आइरन भएको पानीले धुनु हुँदैन ।
– लगातार घामको सम्पर्कले पनि कपाल खराब हुन्छ । त्यसैले स्कार्फ वा ह्याट प्रयोग गर्नुपर्छ ।

कसले गर्न हुँदैन ?

गर्भवती र स्तनपान गराइरहेकाले केराटिन ट्रिटमेन्ट गर्नु हुँदैन । केमिकलले एलर्जी हुनेहरुले यो ट्रिटमेन्ट गर्दा विशेष ध्यान पु¥याउनुपर्छ ।

केराटिन ट्रिटमेन्टले स्वास्थ्यमा असर गर्छ ?

केराटिन शरीरमा पाइने प्राकृतिक प्रोटिन भएपनि केराटिन ट्रिटमेन्टको सामग्री बनाउँदा विभिन्न तत्व प्रयोग गरिएको हुन्छ । यसमा प्रयोग गरिने केमिकलमध्ये ‘फरमल डिहाइड’ केमिकलले मानव स्वास्थ्यमा असर गर्छ । यसबाट क्यान्सर हुने सम्भावना रहन्छ । तर, ‘फरमल डिहाइड’ नमिसाइएको केराटिन प्रयोग गर्दा गर्ने र गराउने दुवैको स्वास्थ्यलाई असर गर्दैन ।

नेपालमा केराटिन ट्रिटमेन्टको क्रेज बढ्दो छ । विभिन्न कम्पनीले केराटिन ट्रिटमेन्ट भित्र्याएका छन् । स्टेला प्रोफेशनलले ‘फरमल डिहाइड र अल्कालाइन फ्रि केराटिन’ बजारमा ल्याएको छ । उक्त उत्पादन जनस्वास्थ्यको दृष्टिकोणले सुरक्षित रहेको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्