Logo
Logo

केरा खेतीबाटै मनग्य आम्दानी


दृष्टि संवाददाता


कञ्चनपुर । बेलौरी नगरपालिका-८ कलकत्ताका करमसिंह राना सफल केरा उत्पादकका रुपमा परिचित छन् । डेढ दशकदेखि रानाले केरा खेतीलाई व्यावसायिक रुपमा अँगाल्दै आएका छन् । जिल्लामै सबैभन्दा बढी जग्गामा केरा खेती गरी आम्दानी गर्नेमा उनी एक्लो किसानमा पर्छन् ।

शुरुमा एक विघा जग्गामा केरा खेती गर्दै आउनुभएका रानाले हाल १७ विघा जग्गामा केरा खेती गरेका छन् । यसमा उहाँले बैंकबाट ऋण लिई रु ६० लाख लगानी गरेका छन् । भाडामा लिएको जग्गावापत वार्षिक रुपमा रानाले रु २० लाख भाडा नै तिर्दै आएका छन् ।

गत वर्ष चार विघा जग्गामा केरा खेती गर्नुभएका रानाले रु २० लाखको केरा बिक्री गरेका थिए । यसबाट खर्च कटाई उहाँलाई खुद रु छ लाख आम्दानी भएको थियो । यस वर्ष १३ विघा जग्गा थप गरी केरा खेतीलाई उनले विस्तार गरेका छन् । केरा खेती गर्ने जग्गाको क्षेत्रफल बढेसँगै आम्दानी समेत बढ्नेमा उनी ढुक्क देखिन्छन् । कम मिहेनतमै बढी प्रतिफल दिने जी नौ जातको टिस्युकल्चर गरिएको केरा उनले खेतमा रोपेका छन् ।

शुरुमा एक्लैले केरा खेती गर्दै आएकामा हाल भतिजा प्रताप रानालाई समेत उहाँले साझेदारका रुपमा लिएर केरा खेतीलाई अगाडि बढाउनु भएको छ । आधुनिक तरीकाले केरा खेतीलाई विस्तार गरेको उनको भनाइ रहेको छ । झण्डै १६ वर्षअघि एक भारतीय किसानबाट केरा खेती गर्ने तरीकाबारे जानकारी लिएपछि पहिलो वर्ष केराका विरुवाहरु पनि भारतबाटै ल्याएर खेती गरेको उनले बताए । चाहे जस्तो आम्दानी लिन सफल भएपछि उत्साहित भएर निरन्तर रुपमा केरा खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै आएको उनको भनाई छ ।

गत वर्ष कृषि ज्ञान केन्द्रबाट उनले केरा खेतीका लागि रु एक लाख २० हजार अनुदान रकम समेत प्राप्त गरेका थिए । “उन्नत जी नौ जातको केरा खेतमा रोप्न थालेपछि आम्दानी बढ्दै गएको छ” उनले भने, “केरा खेतीबारे तालीम, कृषि औजार र उपकरणको प्रयोगमा जोड दिन थालेपछि लागत खर्चमा समेत निकै कटौती भएको छ ।” गहुँ, धानलगायतका बालीका लागि अनुदानको मलको कोटा निर्धारण गरे जस्तै केरा खेती गर्ने किसानका लागि पनि सरकारले कोटा निर्धारण गर्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, “केरा रोप्ने बेलादेखि बाली दिँदासम्म मलको आवश्यकता हुन्छ । बजारमा मल नपाउँदा निकै सास्ती खेप्नु पर्दछ । भारतबाट अवैध रुपमा भित्राइएको रासायनिक मलको गुणस्तर नहँुदा ठगिने गरेका छौँ ।”

भारतीय केरालाई निर्वाध रुपमा भित्राइँदा मूल्यमा प्रतिस्पर्धा गर्न गाह्रो भएको रानाले बताए । “भारतीय केरा सस्तोमै बिक्री हुन्छ । हामी कहाँ मलखाद, सिँचाइ, जोताइ, मजदूरको ज्याला गरी लगत खर्च बढी हुने भएकाले भारतीय केरासँग प्रतिस्पर्धा गर्न सहज छैन”, उनले भने, केरा उत्पादन गर्नका लागि १८ महिना लाग्ने गर्दछ । उत्पादकभन्दा बिचौलियाले बढी कमाउने गरेको उनको भनाइ छ ।

डडेल्धुरा, महेन्द्रनगर, धनगढी अत्तरियालगायतका बजारका व्यापारीले नगदमै केरा खरीद गरी घरबाटै लैजाने गरेका छन् । उत्पादित केरा घरबाटै बिक्री हुने गरेकाले बजार खोज्दै जानु पर्ने झन्झट समेत छैन । उनले केरा खेतीका लागि दुई जना स्थायी र ३५ जना अस्थायी (आंशिक) रुपमा काम गर्ने गरी कामदार नियुक्त गरेका छन् ।

घरमै केराका टिस्युकल्चर गरिएका विरुवाको नर्सरी
घरमै टिस्युकल्चर गरिएका जी नौ जातका केराको नर्सरी तयार गरी रानाले आम्दानी गर्दै आएका छन् । नर्सरीमा उत्पादित विरुवा आफ्नै केरा फार्ममा रोप्ने र बाँकी रहेका बिरुवा अरुलाई बिक्री गर्छन् ।

ग्रिन हाउसभित्र रानाले केराका विरुवाको नर्सरी स्थापना गरेका छन् । गत वर्ष ४० हजार बिरुवा तयार गरी बिक्री गरेका रानाले यस वर्ष ६० हजार बिरुवा नर्सरीमा उत्पादन गरेका छन् । उत्पादित विरुवामध्ये ५० हजार बिक्री गरेका छन् । पाँच हजार बिरुवा नर्सरीमा बेच्न बाँकी रहेका छन् । उत्पादित पाँच हजार विरुवा विभिन्न कारणले मरेका छन् ।

“केराका उत्पादित विरुवा रु २० लाखमा बिक्री भएका छन्”, उनले भने, “यसबाट रु चार लाख आम्दानी भएको छ ।” उत्पादित केराका विरुवा शुक्लाफाँटा, बेलौरी, लालझाडी र पुर्नवासका ८० बढी किसानले खरीद गरी लगेका छन् । नर्सरीमा उत्पादित प्रतिबिरुवा रु ४० का दरले बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्