Logo
Logo

नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार सुरु


दृष्टि संवाददाता


काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति) गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ति प्रक्रिया पूरा भएर असार २७ देखि एकीकृत कारोबार सुरु गरेको हो ।

नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र वसन्तकुमार चौधरीले एक कार्यक्रमबीच एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । नबिल बैंकका अध्यक्ष पौडेलले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तिले नबिल बैंकको आगामी व्यावसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ पौडेलले भने ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पुँजी कोष ३२ अर्ब ६८ करोड हुनेछ । साथै नबिलको शाखा सञ्जाल बृद्धि भइ १३५ हुनेछ भने एटिएम संख्या भने १८३ हुनेछ । निक्षेप आकार २१६ अर्ब हुनेछ भने कर्जाको आकार २०१ अर्ब हुनेछ (चैत्र मसान्तको वित्तीय विवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैको अंक २ खर्ब माथि हुनेछ ।

युनाइटेड फाइनान्सलाई प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो नवीन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनीतिअनुसार बजारमा उपस्थित हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्