Logo
Logo

जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा डोजर लगाएर भत्काइयो


दृष्टि संवाददाता


खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीको नाममा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा डोजर लगाएर भत्काइएको छ । बराहपोखरीमा अवस्थित शङ्खेश्वर मन्दिरको गुठी र सो आसपासको सार्वजनिक जग्गा स्थानीय बासिन्दाले अतिक्रमण गरेर निर्माण गरेका घरटहरा बराहपोखरी गाउँपालिकाको जेसिभि लगाएर भत्काइएको हो ।

शङ्खेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन यसअघि स्थानीय बासिन्दालाई गाउँपालिकाको तर्फबाट तीन पटक समय दिइएको थियो । गाउँपालिकाले दिएको समयलाई स्थानीय बासिन्दाले बेवास्ता गरेपछि विसं २०७७ मङ्सिर १८ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार मङ्सिर २१ गते सार्वजनिक जग्गा अतिक्रमण गर्ने २७ जना व्यक्तिको नामावलीसहित अन्तिम पटक सूचना जारी गरिएको थियो ।

गाउँपालिकाले जारी गरेको सो अन्तिम सूचनालाई पनि कतिपयले बेवास्ता गरेर बसेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितिमा सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा भत्काइएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए । “गाउँपालिकाले सूचना जारी गरेपछि कतिपय स्थानीय बासिन्दाले आफैँ घर भत्काएका थिए”, उनले भने, “अधिकांशले एक तला तथा कतिपयले छाना भत्काइसेका थिए । तर, हालसम्म पनि अटेर गरेर बसिरहेका तीन व्यक्तिको सग्लो घरलाई भने सुरक्षाकर्मीको उपस्थितिमा गाउँपालिकाको जेसिभी हालेर भत्काउनु परेको हो ।”

बराहपोखरीको जग्गा अतिक्रमण गरेर बसिरहेका भुवन श्रेष्ठ, ढकबहादुर कार्की, तोर्णबहादुर कार्की, शिव श्रेष्ठ, कर्णकुमार श्रेष्ठ, खगेन्द्र राई, भीमबहादुर तामाङ, हर्कबहादुर तामाङ, भरत तामाङ, अर्जुन तामाङ, रामजी फुँयाल, तिलकबहादुर मगर, गङ्गा विश्वकर्मा, डिल्ली गिरी, महेन्द्र विष्ट, केदार राई, तिर्था तामाङ, गोकर्ण राई, डम्बरहादुर राई, पदम राई, ध्रुव गिरी, धनबहादुर राई, गणेशबहादुर राई, रामबहादुर राई, मदन राई, हिमाल राई र हरिहर खत्रीको नाममा गाउँपालिकाले घरटहरा हटाउन सूचना जारी गरेको थियो । गाउँपालिकाले जारी गरेको सूचनालाई बेवास्ता गर्दै आफैँ घरटहरा नभत्काउने स्थानीय बासिन्दाको घरमा गाउँपालिकाको जेसिभी चलाउँदा घरभित्र राखिएका दैनिक उपभोग्य वस्तु घरायसी सामान नै पुरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मापदण्डविपरीत स्थानीय बासिन्दाले अतिक्रमण गरेर बनाएका घर तथा टहरा हटाएर सार्वजनिक सम्पत्तिको रक्षा गर्दै गाउँपालिकालाई सुन्दर र व्यवस्थित बनाउने एउटा अभियान सफल भएको गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले बताए । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यको सूचीमा समावेश बराहपोखरी जिल्लाको दक्षिणी क्षेत्रमा पर्दछ ।

भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको कामसमेत भइरहेको बराहपोखरीको चौतर्फी विकास गर्न गाउँपालिकाको लगानीमा कृषि, पर्यटन, प्राकृतिक सम्पदा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर गुरुयोजना निर्माण शुरु गरिएको छ । कृषिलाई पहिलो प्राथमिकतामा राखेर निर्माण शुरु गरिएको आवधिक गुरुयोजनामा सोही गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल सुनापत्ताल, घोप्टेथलो, गोकुलथुम्कालगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रसमेत समेटिएका छन् ।

चारैतिर घना वनजङ्गलको बीचमा एकनासले अचल भएर बसेको विशाल बराहपोखरीमा संसारकै लोपोन्मुख रातो माछा पाइन्छ । मुहान र निकास केही नदेखिने बराहपोखरीको लम्बाई ३३० मिटर र २१० चौडाइ मिटर लामो रहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब १६ कोस टाढा पर्ने बराहपोखरीमा हरेक वर्षको हरिबोधिनी एकादशीमा ठूलो मेला लाग्ने गर्छ । बाह्रै महिना हरियो र टम्म भरिएको पानी देखिने बराहपोखरीमा नुहाए तथा पूजाआराधना गरे मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ ।

विशेष गरी धामीझाँक्रीको मेला लाग्ने बराहपोखरीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिका दिन सतबीज छर्ने प्रचलन छ । करिब पाँच वर्गकिलोमिटर क्षेत्रफल ओगटेको बराहपोखरीमा जीवनमा शान्ति मिलोस् भनी जोडी परेवा उडाउनुका साथै शुद्धताका लागि पोखरीको पानीले नुहाउने चलन छ ।

प्रचारप्रसार तथा प्रवद्र्धन अभावमा ओझेलमा रहेको बराहपोखरी परापूर्वकालमा १२ घर मगर बस्ती डुबेर बनेको ताल भएकाले यसको नाम बराहपोखरी भनिएको किंवदन्ती छ । एउटा घरको अगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेको स्थानीय बासिन्दाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्