ग्वार्कोमा चार लेनको फ्लाइओभर « Drishti News – Nepalese News Portal
Logo

ग्वार्कोमा चार लेनको फ्लाइओभर


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको छ । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्को चोकमा चार लेनको फ्लाइओभर बनाउन सडक विभागले सोमवार टेन्डर निकालेसँगै यो परियोजना बन्ने देखिएको हो ।

अबको २ वर्षभित्र फ्लाइओभर बनाई विभागलाई हस्तान्तरण गर्ने गरी निकालिएको टेन्डरमा नेपाली निर्माण कम्पनी मात्रै सहभागी हुन पाउनेछन् । अर्थात् ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर नेपाली निर्माण कम्पनीले बनाउनेछन् । विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले सोमवार ठेक्का निकालेको हो ।

फ्लाइओभर भनिए पनि विकसित देशमा जस्तो जटिलखाले संरचना नभई साधारण खालको ३५ मीटरको पुल बनाउने भएको र त्यसका लागि नेपाली कम्पनीहरू नै सक्षम भएकाले यस्तो ठेक्का निकालिएको केन्द्रका निर्देशक डा।विजय जैशीले जानकारी दिए । योजना, डिजाइनदेखि निर्माण सम्पन्न अर्थात् इन्जिनीयरिङ प्रक्युरमेन्न्ट कन्स्ट्रक्शन (ईपीसी) ढाँचामा निर्माण गरिने उक्त फ्लाइओभर ठेक्का पाउने कम्पनीले उक्त अवधिभित्र बनाइसक्नुपर्नेछ ।

‘सानो ठेक्का हो । नेपाली निर्माण कम्पनीहरूसँग पनि पुल बनाउने क्षमता राम्रो छँदै छ । त्यसैले आईपीसीबाट ठेक्का निकालिएको हो,’ जैशीले भने, ‘बिजुली बजारको आर्चब्रिज जस्ता धेरै राम्रा पुलहरू पनि बनेका छन् । यो साधारण खालको फ्लाइओभर भएकाले नेपालीलाई नै प्रोत्साहन गर्न खोजिएको हो ।’

चक्रपथको पहिलो खण्डको कलंकी–कोटेश्वर सडक चीन सरकारको सहयोगमा ८ लेनको बनिसकेको छ । त्यही सडकखण्डको ग्वार्को चोकमा चार लेनमा फ्लाइओभर बन्ने जैशीले बताए । ४५५ मीटर लामो फ्लाइओभारमध्ये उक्त सडकमाथि ३५ मीटरको पुल बन्नेछ भने मंगलवजार (पाटन) साइटबाट इमाडोलतर्फ भने पुलमुनिबाट सवारीसाधनहरू सञ्चालन हुनेछन् ।, यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्