Logo
Logo

आइसीएफसी फाइनान्सलाई राष्ट्र बैंकको उन्मुक्ति


दृष्टि संवाददाता


काठमाडौं । डलर अपचलन र ठगी घटनामा संलग्न देखिएको आइसीएफसी फाइनान्सलाई नेपाल राष्ट्र बैंकले उन्मुक्ति दिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले फाइनान्समाथि कारबाहीको सिफारिस गरेको थियो ।

अमेरिकाको टेक्सासमा १० लाख डलरको चिट्ठा ठगी प्रकरणमा सो फाइनानस मुछिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा त्यसमा संलग्न पंकज जोशीमाथि ६ महिनाअघि मुद्दा दायर गरिसकेको छ । जोशीलाई सो फाइनान्सले सघाएको भन्दै फाइनान्समाथि कारबाही गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । जोशीले एक बृद्ध महिलालाई परेको चिठ्ठा उनलाई नपरेको भनेर झुक्याई आफुले निकालेर पैसा नेपाल पठाएका थिए ।

अमेरिकाबाट नेपाल पैसा पठाउन आइसिएफसी फाइनान्सको खाता प्रयोग गरिएको थियो । पंकजकी दिदी पूजा आइसिएफसी फाइनान्समा कार्यरत थिइन् । सो फाइनान्सले बैंक अफ काठमाडौंमा डलर खाता खोलेको थियो । सोही खातामा रेमिटेन्सका रूपमा अमेरिकाबाट दुई लाख ९० हजार डलर पठाइएको थियो । सो पैसा खाताबाट पूजा र उनको परिवारको नाममा पैसा सारिएको थियो ।

फाइनान्सको खातामार्फत कारोबार भएकाले सो संस्थामाथि समेत सम्पत्ति शुद्धीकरणले अनुसन्धान गरेको हो । जसमा फाइनान्सको कमजोरी रहेको तथा प्रस्ट मिलेमतो नदेखिएको विभागको आरोपपत्रमा उल्लेख छ । त्यसबारे छुट्टै छानबिन गरेर कारबाही गर्न विभागले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेपनि राष्ट्र बैंकले यसमा चासो दिएको छैन । यस्तो गतिविधिले नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धि विषयमा कालोसूचीमा पर्न सक्ने विभागका अधिकारीहरु बताउँछन् ।

विभागको निर्णयमा छ, ‘विवादित रकम निजहरूको खातामा जम्मा भएको देखिँदा संस्थागत रूपमा सो विवादित रकमको व्यवस्थापनमा यस फाइनान्सको संलग्नता र मिलेमतो रहेको हालसम्मको अनुसन्धानमा नदेखिए पनि फाइनान्सको वाणिज्य बैंकमा भएको आफ्नो खाता प्रयोग गरी वैदेशिक मुद्राको कारोबार गर्न पाउने–नपाउने सम्बन्धमा आवश्यक छानबिन गरी कानुनबमोजिम गर्ने गरी नेपाल राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६६ को दफा २५ (क) बमोजिम लेखी पठाउने ।’

सो दफामा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरबाहेकको अनुसूचीमा अनुसन्धानबाट प्राप्त निष्कर्ष र संकलन गरिएका प्रमाण कागजसहितको मिसिल अनुसन्धान गर्ने निकायलाई लेखिपठाउने उल्लेख छ । विभागले आइसिएफसी फाइनान्सका अध्यक्ष रामबाबु पन्तसँग समेत घटनाबारे बयान लिएको थियो । दबाबको भरमा उनलाई मुद्दा नचलाइएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्