Logo
Logo

३७औँ वार्षिकोत्सवमा नबिलद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण


दृष्टि संवाददाता


काठमाडौं । नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ । असार २८ गते सोमबार ३७औँ वार्षिकोत्सवको अवसरमा एक औपचारिक कार्यक्रमबीच उक्त प्लान्ट हस्तान्तरण गरिएको हो । नबिलले उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालबीच गत जेठ ५ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीअनुसार नबिलले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ ।

कोभिड–१९ दोस्रो लहरको अन्त्यसँगै अहिले विश्वको अन्य मुलुकहरुमा तेस्रो लहर फैलिँदै गर्दा, नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र बिरामीहरुको जीवनरक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास बैंकले लिएको छ ।

नबिल बैंक पछिल्लो केही समयदेखि मानव कल्याणमा निकै आक्रमण रुपले लागिपरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९को महामारी शुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ । गत वर्ष कोभिड–१९ को प्रतिकार्यका लागि बैंकले नेपाल सरकारलाई रु. ६ करोड नगद सहयोग गरेको थियो । त्यसैगरी नबिल बैंकले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासंग समेत साझेदारी गरी विपद्को पूर्वतयारी र क्षमता विकासका लागि काम गर्दै आएको छ । यसअन्तर्गत गत वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको सहकार्यमा सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालीन पूर्वतयारीसम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ । अभिमुखीकरणमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न विभिन्न संस्थाका ३३० जना स्वास्थ्यकर्मीले सहभागिता जनाएका थिए ।

नबिल बैंकले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा बहुपक्षीय साझेदारीको आवश्यकतालाई मध्यनजर गरी यसमा निजी क्षेत्र पनि एक महत्वपूर्ण हिस्सेदार बन्न सक्छ उदाहरण प्रस्तुत गर्दै सरकारसँग यस किसिमको साझेदारी गर्दै आएको छ । आगामी दिनमा नबिलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकको स्वास्थ्य प्रणाली सुधारका लागि लगानी गर्ने बताएको छ । हाम्रोजस्तो बहुविपद्को जोखिमयुक्त देशमा निजी क्षेत्रसहित सम्बन्धित पक्षहरुको निरन्तरको क्रियाशीलताले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउँछ भन्नेमा बैंकले विश्वास लिएको छ । आगामी दिनमा पनि यस्ता सहयोगलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तरता दिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्