Logo
Logo

४० महिनापछि प्रधानमन्त्री बनेर देउवा सिंहदरबारमा


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् । मंगलबार साँझ पाँचौपटक प्रधानमन्त्रीको सपथग्रहण गरेका देउवाले मंगलबार नै ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

४० महिनाअघि अर्थात् २०७४ फागुनमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसँगै देउवा बाहिरिएका थिए । २०७४ मा सम्पन्न चुनावमा देउवा नेतृत्वकाे कांग्रेस ६३ सिटमा खुम्चिएकाे थियाे ।

तर, एमाले भित्र उत्पन्न परिस्थितिले देउवालाई पुनः प्रधानमन्त्री बन्ने माैका जुराइदियाे र उनी पाचाैँ पटक प्रधानमन्त्रीकाे सपथ खाँदै सिँहदरबारकाे यात्रा तय गरेका हुन् ।

उनले सिंहदरबारकाे यात्रा प्रारम्भ चार जना सारथिसहित गरेका छन् । जसमा कांग्रेसबाट २ र माओवादीबाट २ जनाले साथ दिएका छन् ।

देउवाका सुरूवाती सारथि

बालकृष्ण खाँड :

कांग्रेसकाे प्रमुख सचेतक समेत रहेका बालकृष्ण खाँडले देउवा सरकारमा गृहमन्त्रीको जिम्मेवारीमा पाएका छन् ।

ज्ञानेन्द्र कार्की :

देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीले अहिले कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

जनार्दन शर्मा :

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थ मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ ।

पम्फा भूसाल:

सशस्त्र द्वन्द्वकाे समयमा विद्युतकाे उपमा पाएकी माओवादी नेतृ पम्फा भुसालले ऊर्जा मन्त्री बनेकी छिन् ।

देउवाकाे चुनाैती

४० महिनापछि प्रधानमन्त्री बनेर सिंहदरबार छिरेका देउवाका अगािड सुरू देखि नै चुनाैतीका चाङ छन् । पहिलाे त उनलाई संसदबाट विश्वासकाे मत लिनु छ । संविधानतः ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक चुनौती छ । माधव नेपाल समूह एमालेमा फर्कँदै गठबन्धनबाट बाहिरिएकाे घाेषणा गरिरहँदा देउवालाई नेपाल समूहका नेताले मत दिन्छन् वा दिँदैनन् भन्ने काैतहुल सुरू भएकाे छ ।

एमालेको नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहमध्ये कसैले पनि साथ दिएन भने अबको ३० दिनभित्र देउवाले विश्वासको मत पाउँदैनन् । त्यस्तो बेला संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटन हुन्छ र मध्यावधि निर्वाचन घोषणा हुनेछ । निर्वाचन गरेर ६ महिनाभित्र प्रतिनिधिसभाको बैठक बसिसक्नुपर्ने भएकाले ढिलोमा मंसिर अन्तिम र पुस पहिलो सातासम्म चुनाव हुने अवस्था आउनसक्ने दलहरुको विश्लेषण छ । यदि मत पाएको खण्डमा देउवालाई प्रदेशमा पनि सुखद सहयोग मिल्ने देखिँदैन ।

यि बाहेक संविधान कार्यान्वयनमा देखिएका जटिलता र अन्योललाई हटाउँदै मुलुकलाई सही दिशामा ल्याउनुपर्ने चुनौती देउवासामु छ । ओली सरकारको कार्यशैलीको विरोध गर्दै आएका देउवासामु अब आफ्नो सरकार पृथक देखाउनुपर्ने चुनौती पनि छ । पाचाैँ कार्यकालमा देउवा कतिकाे सफल हुन्छन् त्याे समयले पक्कै बताउला । तर, चुनाैतीका चाङले भनिरहेकाे छ, देउवाले धेरै मिहिनेत गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्