Logo
Logo

माधव प्रति ओलीको आक्रोस : ‘लाजशरम पचेको मान्छे’


दृष्टि संवाददाता


काठमाडौं । निवर्तमान प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपाललाई लाजशरम हराएका व्यक्ति भएको बताएका छन् । उनले आफूलाई जालझेल गरेर हटाइएको र त्यसको अगुवाइ गरेको भन्दै माधवकुमार नेपाल लाजशरम पचेको मान्छे भएको टिप्पणी गरे । बुधबार बालुवाटारबाट विदाई भएर बालकोटस्थित आफ्नो घरमा पुगेपछि भेला भएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘आफ्नै पार्टीको सरकार ढाल्नका लागि कहिले राष्ट्रपतिकहाँ विरोधीलाई लाइन लगाएर, माधव नेपालजस्ता लाजशरम हराएका मानिसहरू हुन् ।’ उनले पार्टीका नेताहरूलाई गल्ती स्वीकार गरेर आएमा काम गर्न दिइने बताउँदै उनले माधव नेपालका हकमा गल्ती कमीकमजोरी स्वीकार्य गर्ने ठाउँ नरहेको बताए ।

बुधबार ओलीलाई नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघले बालुवाटारबाट स्कर्टिङ र नाराबाजी गर्दै बालकोटस्थित घरमा पु¥याएका थिए । अध्यक्ष ओलीले अदालतको फैसलाप्रति समेत असन्तुष्टि जनाएका छन् ।

उनले भने, ‘जनादेशबाट होइन परमादेशबाट अकारण, कुनै गल्ती गरेर होइन । काम गर्न नसकेर होइन । देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जाली झेलीहरूको जालझेल, कपट, षड्यन्त्रस्वरूप अदालतमा मुद्दा हालेर विश्वमा कहीँ नभएको नजिर कायम गरेर नेपाली जनतामाथि, लोकतन्त्रमाथि अतिक्रमण भएको छ ।’

उनले नेपाली जनताको आवधिक मूल्यांकन गर्ने अधिकार समेत खोसिएको बताए । अध्यक्ष ओलीले भने, ‘अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको जात्रा सर्वोच्च अदालतमा भयो ।’

प्रतिक्रिया दिनुहोस्