Logo
Logo
दृष्टिकाेण

खड्गप्रसादहरु सकिँदैमा आन्दोलन सकिँदैन


लक्ष्मण देवकोटा


सम्मानित सर्वोच्च अदालतको विवेकपूर्ण निर्णयले सार्वभौम संसदको हत्यालाई अस्वीकृत गरिदिएको छ । सार्वभौम संसदलाई ब्यूँताइदिएको छ र अहंकारी केपी शर्मा ओलीलाई दह्रो झापड दिंदै संसदीय व्यवस्थामा संसदनै प्रमुख हो भन्ने मान्यता स्थापित गरिदिएको छ ।

यो गणतन्त्र नेपालको इतिहासमा यौटा असाध्यै महत्वपूर्ण अर्थ राख्ने घटना हो । सर्वोच्चको फैसलाको तरँग शीतलनिवाससम्म पुगेको छ । मध्यरातमा हतार–हतार हस्ताक्षर गरेर ओलीका सबै कुकृत्यलाई वैधता दिंदै आएको शीतलनिवासमाथि नैतिकताको गम्भीर प्रश्न खडा भएको छ ।

केपी शर्मा ओलीलाई यो अवस्थामा पुर्याएको अरु कसैले होइन, स्वयम् उनकै अहँकारी चरित्रले हो । नेपालको कम्युनिष्ट आन्दोलनलाई विश्वास गरेर जनताले दिएको अपार बहुमतलाई ओलीले अपमानित गरेका हुन् । सत्तामा पुग्नकै लागि उनले पहिला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गोप्य सम्झौता गरे । जीवनको लामो कालखण्ड सहयात्रा गरेर निर्माण गरेको पार्टीका सहयोद्धाहरुलाई अपमानित गर्ने काम गरे ।

हद पार गरेर माधव नेपाललाई गरेको अपमान, भूमिगत कालमा जीवनलाई दाउमा राखेर लडेका योद्धाहरुलाई एकपछि अर्को गर्दै गरेको पजनीले कार्यकर्ता स्तरमा ठूलो चित्त दुखाउने काम गर्यो । लिखित सम्झौता गरेका प्रचण्डलाई धोका दिएर मात्र नपुगेर संवैधानिक निकायको घोर दुरुपयोग गरेर एकीकृत हुँदै गइरहेको नेपालको कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत पार्ने काम गरे । केपी ओलीबाट नेपालको वामपन्थी आन्दोलनमा भएको यो धोका इतिहासले पक्कै भुल्ने छैन । यसको पुनःनिर्माणका लागि अरु धेरै समय लाग्नेछ ।

देशैभरी सत्ता र शक्तिको दुरुपयोग गरेर पञ्चर्यालीको शैलीमा जुलुस निकालियो । ओली इतर विचार राख्नेहरुलाई अपमानित त गरिएकै थियो, उनीहरुलाई सकेसम्म बहिष्कार नै गरेर उठ्न नसक्ने बनाउन स्वयम् उनैले आदेश दिए । देश कोरोनाको कहरमा थियो, श्रमिकहरु हप्तौं लगाएर मरे पनि आफ्नै आँगनमा मर्छु भनेर पैदल हिंडिरहेका थिए । तर, कम्युनिष्ट सरकारले चर्चरी फुटेका मजदूरहरुका नाङ्गा पैताला देखेन ।

उनीहरुलाई सहज रुपमा घरसम्म पुग्न र फूको च्यूराको पनि बन्दोबस्त गर्न नसक्ने खड्गप्रसादहरु यति र ओम्नीको नाउँमा कोरोना सामाग्रीको खरिदका नाममा ढुकुटी रित्याउने धन्दामा लागे । एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्डहरु बाहिर आए । तर, ओलीभक्तहरु लगेर गरिएको सेटिङवाला अख्तियारले मुख खोल्ने हिम्मत गरेन । सार्वजानिक सम्पतिहरुको दोहनले नपुगेर सत्ता टिकाउनकै लागि चूरे सिध्याउने निर्णय जालसाजीपूर्वक गरियो ।

पुस ५ गते प्रतिनिधिसभा विघटन जायज होइन भनेर अदालतले भन्दाभन्दै मध्यरातमा ओलीले फेरि सार्वभौम संसदमाथि बन्चरो चलाए । भन्नलाई आफू जनताको बहुदलीय जनवादको हिमायती भन्ने तर काम भने उल्टो गर्ने ओलीगूटको ज्यादति वडासम्मै फैलियो । जसले जहाँ जतिसक्छ लूट भनेर खुला छोडियो ।

जननेता मदन भण्डारीले लेनिनवादको नाममा तानाशाहीतन्त्र चलाउँदा सिंगो आन्दोलननै ध्वस्त हुन्छ भनेर जनताबाट लोकतान्त्रिक तरिकाले निर्वाचित हुनेगरी बहुदलीयता स्वीकारेका हुन् । षडयन्त्रपूर्वक मारिएका कमरेड मदनका हत्यारा खोज्नेतिर सरकारले चासो त दिएननै उनकै नाम बेचेर संसदीय व्यवस्थाको, अर्थात् जनमतको अपमान गर्ने काम गर्यो ।

लेनिनवादी संगठनात्मक पद्धति मान्दै आएको कम्युनिष्ट पार्टीमा अल्पमतमा रहेका ओलीले निरन्तर बहुमतमाथि शासन गर्न खोजिरहे । पार्टीको सरकारबाट भएका असन्तुष्टि, भ्रष्टाचारका आरोपहरु बारे छलफल गरौं, सरकारलाई अझै चुस्त र दुरुस्त बनाउँ भन्ने मनसायले बैठक डाक्दा उनी कहिल्यै उपस्थित भएनन् ।

बालुवाटारमै राखिएका दर्जनौं वैठकहरुलाई उनले दुत्कारिरहे । संसदको वध गरेपछि हेलिकोप्टरमा देश दौडाह गर्न सक्ने केपी ओली पल्लो कोठामा स्वास्थ्यको कारण देखाएर, पार्टी कार्यालयमा सुरक्षाको नाटक गरेर गएनन् । यो सबै नाटक थियो र उनी पार्टीको पद्धति, विधिलाई दुत्कारिरेहकाछन् भन्ने यथेष्ट प्रमाण थियो । अनुशासनहीन अध्यक्षले तल्लो तहको कार्यकर्तालाई के भनेर आदेश दिन्छ ? किन त्यो साधारण सदस्यले अध्यक्षको आदेश मान्न वाध्य हुन्छ ? प्रशस्तै प्रश्न उठे ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्शा जारी गरेर देशभक्त ‘बा’को उपमा पाएको ओलीको नाटकको पटाक्षप सामन्त गोयलको बालुवाटार प्रवेशबाटै भयो । मध्यरातमा रातो कार्पेट बिच्छ्याएर भारतीय विस्तारवादका सामु घूँडा टेक्ने कम्युनिष्ट प्रधानमन्त्रीको रुपमा ओलीलाई जनताले चिने ।

वैदेशिक नीति कमजोर हुँदै गयो । चीनसँगको दूरी टाढिंदै गयो र पूर्णत भारतीय जनता पार्टीको चिन्तनमा ओलीको लेनिनवाद परिणत हुन पुग्यो । स्वच्छन्द रुपमा मनमौजी बोल्ने, काम गर्ने र भ्रष्ट मण्डलीको घेराबन्दीले ओली कमजोर हुँदै गए तर उनमा घमण्ड कहिल्यै घटेन । निर्वस्त्र बादशाह झैं उनी शहरमा घुमिरहे ।

नेपालको कम्युनिष्ट आन्दोलनप्रति भरोसा गरेका सर्वसाधारण जमिनका जनतालाई ओलीले धोका दिएका छन् । यसको हिसाबकिताब त जनताले गर्ने नै छन् । आफ्नै नेतृत्वमा रहेको दुईतिहाइ निकटको सरकारलाई ढालेर चुनावबाट बहुमत ल्याउँछु भन्ने ओली बेलुनको हावा खुस्किएको छ । अस्पतालको गेटसम्म टेक्न नपाएर दिनहुँ मानिसहरु मरिरहेका बेला ओलीको तानाबाना जसरी पनि बालुवाटारमा बसिरहनु मै रह्यो । उनले जनताको स्वास्थ्यलाई महत्वको विषय कहिल्यै ठानेनन् ।

ओली उदय र पतनको यो लामो श्रृँखलाबाट यौटा गतिलो पाठ नेपालको वाम आन्दोलनले सिक्नेछ, विगत जतिसुकै बलिदानीपूर्ण भएपनि यदि मानिसको नियत गलत छ भने त्यसले सिंगो पद्धतिलाई ध्वस्त पार्न सक्नेरहेछ । ओलीको अहँकारकै कारण नेपालको वामआन्दोलन पक्कै सिद्धिनेछैन । यो फेरि नयाँ शीराबाट उठ्नेछ । जनताको अभिमतलाई अपमान गर्ने खड्ग प्रसादहरुलाई जनताले विदाइ गर्ने नै छन् । फेरि इमान्दारहरुको दिन आउनेछ ।

प्रतिक्रिया दिनुहोस्