काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्ध सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेपनि माधव पक्ष भने तत्काल सरकारमा नजाने भएको हो ।
आफ्नो समूहले संसद् जोगाउन प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए पनि अहिले नै सरकारमा जान सक्ने अवस्था नरहेको माधव पक्षका नेताहरुको भनाइ छ । पार्टी एकताका लागि प्रयास जारी नै भएकाले तत्काल सरकारमा जान नसक्ने माधव पक्षको भनाइ छ ।
मंगलबार बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले नेता माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । भेटवार्तामा सरकार सञ्चालनका विषयमा पनि छलफल भएको थियो ।
सरकारमा माधव पक्ष सहभागी भएको अवस्थामा ६ मन्त्रालय छुट्याउने बताइएको छ । एमालेभित्रको आन्तरिक विवाद समाधान हुने बाटोमा गए माधव समूह सरकारमा सहभागी नहुने बताइएको छ ।











