काठमाडौं । नेकपा एमालेले ‘आईटी आर्मी’ गठन गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रभु साहको नेतृत्वमा ‘आईटी आर्मी’ गठन गरेका हुन् ।
लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट अध्यक्ष ओलीले घोषणा गरेको आईटी आर्मीको अन्तरिम घोषणापत्र समेत सार्वजनिक गरिएको छ । ‘शासक वर्ग’ले समाजमा सृजना गरेको ‘भ्रम’ चिर्नलाई उक्त संगठनको आवश्यकता रहको बताइएको छ ।
सूचना प्रविधि (आईटी)को सहायताले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथिती लगायतका विसंगति हटाउन सकिने आईटी आर्मीले जनाएको छ । आईटीकै माध्यमबाट दमन उत्पीडन र विभेदलाई बढावा दिने गलत शासन व्यवस्थाको अन्त्य गरिने अन्तरिम घोषणापत्रमा उल्लेख छ।
‘आइटीको सहायताले हामी मुलुकमा ब्याप्त दुराचार, बेथिथि, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्छौं,’ अन्तरिम घोषणापत्रमा भनिएको छ, ‘तसर्थ देशमा समाजवादी व्यवस्था निर्माण सहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियनामा हामी सफल हुने दृढ विश्वासको साथ अर्ध सामुहिक स्वरुपमा क्रियाशील रहनेगरी आईटी आर्मीको स्थापना गरिएको छ।’
एमालेमा यसअघि नै ‘साइबर सेना’ समेत गठन गरिएको थियो। अध्यक्ष ओलीनिकट नेता महेश बस्नेतले साइबर सेना गठन गरेका थिए । साबइबर सेनापछि साहको नेतृत्वमा सोही प्रकृतिको आईटी आर्मी पनि गठन गरिएको हो ।
आईटी आर्मीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुनेछ । आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ । यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ ।