किन यस्तो भयो कम्युनिष्ट पार्टी ? « Drishti News – Nepalese News Portal
Logo

किन यस्तो भयो कम्युनिष्ट पार्टी ?


लक्ष्मण देवकोटा


बमले थिलोथिलो भएको हिरोसिमा र नागासाकीका जर्जर पहाडहरुमा सबै जिवात्माहरु परमाणु बमले ध्वस्त हुँदा पनि ‘गिंको बिलोवा’ मरेन । अजेय र अमरताको विम्वको रुपमा दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाण्डूमा रोपेको ‘गिंको बिलोवा’ नामको वृक्ष अहिले मृत अवस्थामा छ ।

गिंको बिलोवाले नेपालको कम्युनिष्ट आन्दोलनको सांगोपाँगो वर्तमानको चित्रण गरिरहेको छ । क्रान्तिको भट्टीमा खारिएका यी दुईथरी कम्युनिष्टहरुको महान एकताले यो मुलुकको कायापलट गर्नेछ भन्ने जनताका सपना बज्रपात भएर मूर्छित अवस्थामा छन् । आशा र विश्वासको पखेरामा डढेलो लागेको छ ।

ठूलो अभ्यास नभइकन एकता हुँदा एकतै भएको होइन भन्नेहरुलाई यौटा प्रश्न, एकता भइसकेपछि माधव नेपालहरुलाई भित्तामा पुर्याउन नखोजेको भए पनि त राम्रै हुन्थ्यो । माधव नेपालहरुलाई समेत एकतापछि अपमानित नगरी उचित सम्मान र जिम्मेवारी दिएको भए के बिग्रन्थ्यो र ? पार्टीको वडा कमिटीसम्म माधव नेपालसँग निकट भनिएर गुटको फरेब लागेका आस्थावान् कमरेडहरुलाई भीरमा पुर्याएर खसाल्न खोज्ने भय नदेखाइएको भए के बिग्रन्थ्यो र ?

हो, तपाईहरुले भनिरहनुभएको छ, एकै हिउँदमा आत्तिनुहुन्न । डराइहाल्नुहुन्न । हिंजो ओली अल्पमतमा हुँदा माधव कमरेडले लिएको हूर्मत कहाँ बिर्सिएको छ र ? यहींनेर मेरो प्रश्न, नयाँ संसार खोज्न हिंडेको मानिस प्रतिशोधको भट्टीमा पस्यो भने त्यसको मृत्यु त्यही भट्टीभित्र हुन सक्छ ?

कम्युनिष्ट आन्दोलनको यो घडी विघटनको दिशामा लम्किरहेको छ । सबैले देखिरहेकाछन् । जो सत्य बोलिरहेको छ्, उसमाथि फूटपरस्तको आरोप लागिरहेको छ । अराजक र देखिनसहने हुल्याहाको आरोप लागेको छ । जसले नियम मिचिरहेको छ, उही काजी भएर आदेश र अरनखटन गरिरहेको छ । केही मानिस यो सब एमालेको बिरासतमाथि प्रचण्डको प्रवेशले भएको हो भन्ने भ्रम पालेर र त्यही भ्रम बाँडेर बसिरहेकाछन् ।

अर्काथरी माधव नेपालको पदीय लोभ, लालचको उपज भनिठान्छन् र सोही बमोजिम भ्रमको खेती गरिरहेकाछन् । तर वास्तविकता त्यो भन्दा भिन्दै छ । वास्तविकता के हो भन्दा, जुन पार्टीले यो मुलुकको शासन गर्ने शासक बनायो, जुन जनताले अपार श्रद्धा, आस्था र विश्वासका साथ सगरमाथाको टाकुरामा पुर्यायो, त्यही शक्ति र पार्टीको अनुशासनको लक्ष्मणरेखा नाघेरै यस्तो सब भद्रगोल भएको हो ।

यहाँनेर तपाईं प्रश्न गर्न सक्नुहुन्छ, ए उसो भए जुन दलले सांसद बनायो, मन्त्री बनायो, त्यही दललाई धोका दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु कुनचाहिं विधि, पद्धतिको कुरा भयो ? भन्नैपर्ने हुन्छ, सिद्धान्त, विचार, नैतिकता सबैको मृत्यु भइसकेपछि प्रेम छ भन्दैमा लासलाई अँगालो हालेर बस्न सकिँदैन । चाहे त्यो आफ्नै जननी किन नहोस् । त्यसलाई विधिवत् अन्त्यष्टी गर्नुनै पर्ने हुन्छ । यहाँनिर कम्युनिष्ट आन्दोलनलाई क्षत, विक्षत पार्ने मनोवृत्तिको अन्त्येष्टि गर्नु प्रथम कर्तव्य हो ।

मानिसहरु आशाको खेती गरेर अझै पनि जनता झुक्याइरहेका छन् । वार्ताको नाटक जारी छ । बालकोटे काजीले बार्दलीबाट माधव नेपालहरुलाई सत्तोसराप गरिरहेका छन् । दोस्रो तहका नेताहरु पटक–पटक बैठक गरिरहेका छन् । ओली र नेपालहरुको वार्तालाप भइरहेको छ । कुराहरु सकारात्मक भइरहेको छ । आजै मिल्ने, भरे मिल्ने र भोलि मिल्ने गरी द्रूत गतिमा काम गरिरहेका छन् ।

फेरि पुरानो एमाले एक ढिक्का हुने अन्तिम तयारी भइरहेको छ । यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने, पुरानो घर नभत्काइकन टालटुल पारेर भत्कन लागेको घरमा बसियो भने त्यो घर भत्किने खतरा बढी हुन्छ । त्यसो हुँदा केपी शर्मा ओली नेतृत्वमा भइरहेको अराजकताको अन्त्य एकताको पहिलो शर्त हुनुपर्दछ । मानव जाति एक भनेर अन्तर्राष्टिय गीत गाएर कम्युनिष्ट भएकाहरु कोभिडको महामारीमा ठोरीतिर कीर्तन गाएर जाने घोर अवसरवादी, दक्षिणपन्थी चरित्रको पुनःमूल्यांकन हुनुपर्दछ ।

तेस्रो शर्त, पार्टीको अर्जुनदृष्टि सत्ता र कुर्ची होइन, जनता हुनुपर्दछ । मै राज्य, मै शासक र म नै सबथोक भन्ने अहम् ब्रम्हास्मीको रोगबाट कुनै पनि हालतमा कम्युनिष्ट नेतृत्व मुक्त हुनुपर्दछ । त्यसो भयो भने मात्र बल्ल एमाले एकता सम्भव छ ।

आफूलाई जननेता मदन भण्डारीको कट्टर अनुयायी बताउने जनताको बहुदलीय जनवादका व्याख्याता भनिएका स्वघोषित पण्डितहरुलाई यो कुरा पच्दैन । यी मठाधीशहरु सतहत्तरै जिल्लामा मठहरु निर्माणमा दत्तचित्त भएर लागिरहेका छन् । उनीहरुको एकोहोरो रटान छ, पुरानो रिसराग साँध्न आफ्नै पार्टीका नेतालाई काम गर्न नदिएर यी हुल्याहाहरुले आफ्नै सरकार ढाल्ने उधुम गर्न थाले ।

जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापतिको टाउको भन्नेहरुको लहैलहैमा मदन भण्डारीको विचारलाई विस्थापित गर्ने षडयन्त्र हुँदैछ । ओली ‘बा’लाई घेराबन्दीमा पारिएको छ । काम गर्न दिइएको छैन । षड्यन्त्रको शिकार भए महान नेता ओली । एककदम अघि बढेर त्यो जनताको प्रवक्ता भनिएको समूहले चिच्याइरहेको छ, धर्म निरपेक्षता र हिन्दू राज्य नेपाल पार्टीभित्र बहसको एजेण्डा बनिनुपर्दछ । ओलीको बहिर्गमनमा कमल थापाको रोइलो फेसबुकमा जारी छ । यसैबाट बुझिन्छ ओलीको भित्री साँठगाँठ कोसँग छ भन्ने कुरा ।

लेनिनवादको नविनतम प्रयोगको रुपमा जनसँगठनहरु निर्माण गरेर, जनताहरुसँग एकाकार भएर राज्यसत्ता कब्जा गर्ने रणनीतिको जबजका मूल्लाहरु एकपटक नपुगेर दुई–दुई पटक संसदको कत्लेआम गर्छन् र भन्छन्, जबजका सच्चा उत्तराधिकारी भनेका ओली नै हुन् । यो भन्दा बेइमान कुरा अरु कुनै हुनसक्दछ ? संसदमा उठेका आवाजहरुलाई सुनेको नसुन्यै गरेर जसले अध्यादेशबाट मुलुकमा आफ्नो मर्जीले शासन गरिरहेको छ, उही लोकतन्त्रको पहरेदार ? यो भन्दा भद्दा मजाक अरु केही हुनै सक्दैन ।

गणतन्त्र, संघीयताजस्ता महान आन्दोलनका उपलब्धिहरुलाई किचिमिरी पारेर दोष जति प्रचण्ड, माधव नेपाल वा अरु कसैको टाउकोमा थोपरेर कोही पनि पानीमाथिको ओभानो बन्न सक्दैन । कम्युनिष्ट पार्टी र मदन भण्डारीको नाम बेचेर सत्ताको तर मार्न पल्किएका कम्युनिष्ट मण्डीबजारका दलालहरुको नेतृत्व अहिले ओलीले गरिरहेका छन् ।

अधर्मको विरुद्ध उभिएका माधव नेपालहरुको हुर्मत काढेर आफ्नो गुट बलियो बनाउने चेष्टा उनका आसेपासेहरुले गरिरहेका छन् । यो सबै देखिएकै कुरा हो । यो गुटलाई न कम्युनिष्ट पार्टीको भविष्यको चिन्ता छ न त देश र जनताको चिन्ता नै । उसको प्राथमिकताको विषय नै होइन, उसको चिन्ता भनेको सत्तामा बसेर साम, दाम, दण्ड, भेद गरेर सत्तामा टिक्नु मात्र थियो, जो ढल्यो ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकको नक्शामा जनताको स्नेह बटुलेको ओली गूट सत्ता रक्षाको निम्ति भारतीयहरुको जुनकुनै दलाली गर्न पनि तयार भएर अघि बढिरहेको छ । दिल्लीको योजनामा अघि बढिरहेका ओलीले देशको स्वाभिमानसँग आफ्नो कुर्चीको सौदा गरेकाछन् । यो आम जनताको निम्ति महँगो पर्नेवाला छ ।

यसकारण पनि पार्टीभित्रका देशभक्त र स्वाभिमानीहरु बोल्नुपर्ने, उठ्नुपर्ने अवस्था आइसकेको छ । राजनीतिका सबै तिकडम गर्न तम्तयार यो गूटसँग असहमत सबैको नामोनिशान मेटिदिने र स्वार्थका निम्ति हरतरहका अभिनय गरेर महान देशभक्त भइटोपल्ने रणनीति पनि अघि बढेको देखिन्छ । यो जनतालाई भ्रमित पार्ने कूटील षडयन्त्रलाई बेलैमा चिर्नको निम्ति सबै तयार हुनुपर्दछ ।

जनविश्वासका यी बहुमुल्य समय फगत आफ्नो कुर्ची रक्षामै खर्चिएका ओलीले पार्टीको कुनै पनि अनुशासन नमानेर कम्युनिष्ट पद्धतिको अवज्ञा गरेकाछन् । जनताको मतको अपमान गरेकाछन् । जनताहरुले यसको जवाफ दिनेनैछन् । घाइते गिंको बिलोवालाई नेपालको धर्तीमा हुर्काउने या घाइते वृक्षलाई वध गरिदिने फैसला लिनुपर्ने बेला आएको छ । ओलीको सनकले विर्सजनको यात्रामा अघि बढिरहेको वामपन्थी आन्दोलनलाई पुनःजीवन दिनको निम्ति नयाँ शिराको खोजी हुन जरुरी छ । नत्र कम्युनिष्ट नामक गिंको विलोवाको मृत्यु अवश्यमभावी छ ।

मदनपोखरा पाल्पा

प्रतिक्रिया दिनुहोस्