Logo
Logo
सम्झना

आमा, चीताबाट लेखेको चिठ्ठी


कृष्णमणि पराजुली


श्री पूज्य आमा
तपाईंलाई धेरै–धेरै श्रद्धासुमन !
आमा ! म केटाकेटी हुँदा तपाईं भन्नुहुन्थ्यो घरमा कुनै बिग्रह हुनु छ भने घरको अगाडि कौवा आएर काँकाँ… गरेर कराउँछ । तर, खै आज कौवा पनि आएको थिएन । कराएको पनि थिएन । अन्य कुनै अशुभ संकेत पनि कुनै प्राणीबाट भएको थिएन । तर, मलाई अचम्म लागेर आउँछ आमा, किन तपाईंले मलाई बाल्यकालमा भन्नुभएको कुरा झुट्टा हुन गयो ?

आमा ! तपाईंको दुःखद् समाचार मैले थाहा पाउनासाथ हामफाल्दै तपाईंको मुख हेर्न आएँ । दुर्भाग्य, म आउँदा त तपाईं कहिल्यै नफर्किने गरी धेरै टाढा भइसक्नु भएछ र तपाईंको पार्थिव शरीर पनि जलिसकेछ । अन्तिम समयमा भए पनि तपाईंको अनुहारमा एक चम्चा पानी चढाउने मेरो इच्छा थियो, त्यो पनि पूरा भएन मेरी आमा । यसरी मेरो धोको सदाका लागि समाप्त भयो । यद्यपि, त्यो मेरो इच्छा सधँैभरि मेरो ह्ृदयमा रहिरहनेछ ।

आमा ! म अरुलाई दोष दिन चाहन्न । म आफँैलाई अभागी सम्झेको छु, किनभने तपाईं र मेरो अन्तिम मिलन हुन सकेन । निश्चय नै, तपाईंले पनि मलाई भेट्न खोज्नुभएको थियो होला ? त्यसरी नै मैले पनि भेट्न खोजेको थिएँ । हामी दुर्ईको मिलन हुन नसकेकोमा जसरी तपाईंको मन रोएको छ, उसरी नै मेरो मन पनि रोइरहेछ ।

आमा ! हो निश्चय नै हो, आफ्नो कोख चिथोरेर निस्किएका सन्तान जतिसुकै बदमास भए पनि आमाको हृदयले त्यस्तो ठानेको हुँदैन । कतिपय आमाहरुले आफू मरेर पनि आफ्ना सन्तानहरुलाई बचाएका हुन्छन् । त्यस्तै आमा हुनु हुन्थ्यो तपाईं मेरी आमा ।

आमा ! तपाईंको मुख हेर्न नपाए पनि अन्तिम दाहसंस्कार भेट्टाउँछु कि भन्ने आशा थियो । यो पनि मेरो लागि जुर्न सकेन । किन जुर्न सकेन यसमा म अनभिज्ञ नै छु । तपाईंलाई देख्न नपाए पनि नश्वर शरीरलाई नास गरेको चीता हेरेर मन बुझाउने विचार आयो । त्यसैले तपाईंलाई लगिएको बाटो पछ्याउँदै तपाईँको चीतामा बिहान सखारै पुगेको थिएँ ।

त्यहाँको वातावरण सुनसान थियो । कोही पनि त्यहाँ थिएनन् । केवल दुई नदी मिलनको शान्त मलिन आवाज मात्र थियो । उत्तरबाट पश्चिमबाट मस्र्याङ्दी नदी शान्तमय हुँदै आइरहेकी थिइन् भने उत्तरपूर्वबाट चम्पाबती चेपे नदी हामफाल्दै मस्र्याङ्दी नदी भेट्टाउन जोडबल गर्दैै आइरहेकी थिइन् । यिनै दुई नदीको मिलन बिन्दुमा तपाईं मेरी आमाको अन्तिम दाहसंस्कार गरिएको थियो भन्ने अनुमान गरेँ ।

निर्जीव यी नदीहरुले एकआपसमा मिलन हुन कति टाढादेखि भिर पहरा चिर्दै, कति पीडा कष्ट सहँदै आएका देखिन्थे । तर, म केही नभए पनि अलिकति बुद्धि भएको मानव प्राणी भने मलाई जन्म दिने आमासँग मिलन हुने अवसरबाट बञ्चित हुन पुगेकोमा आफैँलाई धिक्कार भन्न पुगेको छु । यसमा तपाईं मेरी आमाको के दोष ?

आमा नभए पनि आमाको सम्झना दिलाउने कुनै वस्तु त्यहाँ देखिन्छन् कि भनेर यताउती खोजेंँ । न त्यहाँ एक टुक्रा वस्त्र थियो, न त्यहाँ तपाईंलाई चिनाउने कुनै वस्तु नै थिए । तपाईंलाई जलाइसकेपछिका केही दाउराका टुक्रा तथा अवशेषको रुपमा बाँकी रहेका अंगार छन् कि भनी आँखा गाढीगाढी हेरेँ ।

त्यहाँ तपाईंलाई पहिचान गराउने कुनै पनि वस्तु भेट्टाउन सकिनँ । मेरी आमाको निधन यही ठाउँमा होला भन्ने अन्दाज गरेँ । नदीको माथि छेउतिर रहेको ढुंगामा टुक्रुक्क बसेँ र तपाईंको चीतामा टोलाएर हेरिरहेँ । यो दृश्यले मलाई निकै भावुक बनायो ।

मेरी आमा ! तपाईंलाई जलाउँदा कति जलन भयो होला ? हारगुहार माग्नुभयो होला ? पीडाले छट्पटिँदा आफ्नो कोखलाई ऐयाँ र आच्छु भन्दै कति सम्झनुभयो होला ? तर, त्यहाँ तपाईंको क्रन्दनलाई कसले पो सुनेको हुन्थ्यो र ? मेरी आमा !

आमा ! म तपाईंप्रति धेरै ऋणी छु । तपाईंले लगाउनुभएको ऋण मैले तिर्न सकेको छैन । आमा ! मप्रति तपाईंको बात्सल्य प्रेम सधैँ नै सम्झिरहने छु । आमा ! तपाईंको अनुहार हेर्ने त कुरै छोडौं, तपाईंको चीतासमेत हेर्ने अवसर मिल्न सकेन । मैले त तपाईंलाई मात्र होइन, दिवंगत दाइलाई पनि देख्न पाइनँ ।

त्यसैगरी मेरा बालाई पनि । म यति अभागी रहेछु कि मेरो अभिभावकत्व ग्रहण गर्ने र मलाई स्नेह गर्ने सबैलाई मैले गुमाएँ । म नजन्मिदै बाको मृत्यु भएको रहेछ । यसले त मलाई झनै रुवाउने काम गर्यो । बाको मृत्यु भएपछि जन्मिएको बच्चालाई गर्भे भनिँदोरहेछ । कसैले मलाई गर्भे भनेर चिनाउँदा मेरो मन खिन्न हुन्थ्यो मेरी आमा । तर, तपाईंले मेरा मनका घाउहरु सबै निको बनाइदिनुहुन्थ्यो ।

आमा ! तपाईं सुत्ने कोठामा नै अन्तिम काजकिरिया गरिएको हुँदा जलिरहेको मनमा केही शीतलता आएको थियो । जे भए पनि तपाईंले अन्तिम सास फेर्नुभएको ठाउँमा नै काजकिरिया गरिएको ठिकै पनि लाग्यो । तर, त्यहाँ तपाईंको सम्झना दिलाउने कुनै सानो तिनो चिन्ह पनि केही थिएनन् । मैले अनुमान गरेँ कि आमा तपाईं पनि जानुभयो, तपाईंलाई चिनाउने सम्पूर्ण सामान पनि सबै हराएर गएछन् ।

सायद तपाईंले १०२ वर्षसम्म आर्जन गरेको सम्पत्ति पनि तपार्इँको नाममा अब रहने छैनन् होला । मलाई लाग्छ तपाईंलाई परिचित दिलाउने तपाईंको नागरिकता, टिप, जन्म कुण्डलीजस्ता वस्तुहरु पनि सबै नास भइसके होलान् । सबै जलाइए होलान् । मलाई लाग्छ, अब तपाईँ यो संसारबाट नास हुनुभयो । तपाईंको सम्पूर्ण पहिचान नै नास भएको छ ।

अब त तपाईंलाई चिन्ने न तपार्इंले आर्जन गरेको धर्ती हुनसक्यो, न त अन्य कुरा नै । यति लामो समयसम्म तपाईँले काम गरेवापतको तलबबारे ‘खै मैले १०२ वर्षसम्म काम गरेको तलब भनेर कहिल्यै भन्नु भएन । बरु तपाईंसँग भएका फुली बुलाकी, गरगहना बेचेर हाम्रो लागि खर्च जुटाउनुभयो । धन्य मेरी आमा ।

तपाईंको यो गुन मैले कैले फिर्ता गर्न सक्छु होला र ? अब त बाटो पनि बन्द भइसकेको छ । हो, अब यो संसारबाट तपाईंको अस्तित्व पनि हटिसकेको छ । अब तपाईं र मबीच केवल सम्झना मात्र हुनेछ । जे भए पनि नासवान वस्तु हट्नुमा कुनै पीर लिएको छैन आमा । तर, तपाईं र मबीच भने सधैँ सम्झना रहिरहनेछ ।

तपाईंको अन्तिम प्राण गएको ठाउँमा तपाईंलाई परिचित गराउने कुनै वस्तु नभेटेपछि चिहानमा रहेको एक चिम्टी माटो उठाएर निधारमा लेपन गरें । तपाईँको सम्झनाले मेरो गला अवरुद्ध भयो । घुक्कघुक्क भयो । त्यसबेला तपाईंले मलाई सम्झनु भएछ र मलाई कुक्ककुक्क बाडुल्की लाग्यो होला । आँखाबाट आँशु तरर्र झरे । आँशुले विश्राम लिन सकेनन् । अबिरल नदीजस्तै बगिरहे । अनि तपाईंका चीतामा अञ्जुलीमा पानी भर्दै पटक–पटक चढाएँ ।

तपाईंको सम्झना जोगाइराख्ने मसँग कुनै वस्तु भएन आमा । सबै नै नासी सकेछन् । चीताको एक चिम्टी माटो लिएर निधारमा लगाएँ । अनि पुनः अर्को एक चिम्टी माटो उठाएर जतनकासाथ राखेको छु । यो माटो कहिले पनि नासिन दिने छैन आमा । सधैँ मेरो साथमा राखिरहनेछु ।

तपाईँ पनि नासिनु भयो । तपाईंसँग भएका सम्पूर्ण सामग्री पनि नासिए । एक चिम्टी जमिन पनि तपाईंको नाममा रहन पाएन मेरी आमा अब । भएको भए त्यसलाई बडो जतनका साथ राख्थें होला । तर, त्यो मौका पनि मैले पाउन सकिन । तपाईंको सम्झना दिलाउने, याद दिलाउने कुनै पनि वस्तु नपाएपछि तपाईंको प्रतीकको रुपमा पूजा गरिआएको ‘पाषण’ ढुंगालाई प्रेमपूर्वक लुकाइराखेको छु आमा ।

हो, अब यसैलाई तपाईंको सम्झनास्वरुप राखी रहनेछु । तपाईंले १०२ वर्षसम्म आर्जन गरेको वस्तुको केही अंश मेरो स्वामित्वमा रहेको भए त्यसलाई म खुब जतन गरेर राख्थें । तर, त्यो अवसर पनि मलाई भएनछ, आमा !

आमा तपाईँ नभएपछि त्यस ठाउँ मेरो लागि एकदम अनौठो र नरमाइलो हुनेछ । मेरो भन्नु तपाईँ नै हुनुहुन्थ्यो । तपाईँ नै नभएपछि म त्यहाँ पुग्नुको के औचित्य हुन्छ र ? जुन ठाउँमा मेरो सालनाल गाडिएको थियो, जुन ठाउँमा तपाईँले १०२ वर्ष लगाएर जोडेको सम्पत्ति थियो, जुन ठाउँमा धेरै नभए पनि मेरो पनि सानोतिनो योगदान थियो, जुन ठाउँ बा, बाजे, बराजुहरुले हड्डी घोटेर सम्झना छोडेर जानुभएको थियो ।

ती सब चिजहरु अब सम्झना मात्र पनि हुन सकेनन् । त्यसैले मलाई लाग्छ, जुन ठाउँमा आफ्नो कोही हुँदैन, केही रहँदैन, त्यस ठाउँमा जानुको के अर्थ हुन्छ र मेरी आमा ! हो, साँच्चै नै भनेको हुँ, म त्यहाँ जान पटक्कै मन छैन आमा । मेरो पाइताला त्यता फर्कन चाहँदैनन् । तर, तपाईं र हाम्रा पुर्खाहरुको चिहानको सम्झना भने मलाई सधैँ रहनेछ । त्यसकारण चीताको एक चिम्टी माटो र तपाईंको सम्झनास्वरुप ‘पाषण’ मेरो साथमा सधैँ राखेको छु ।

आमा तपाईँ जसरी जानुभयो , त्यसरी नै म पनि जाने नै हो । मेरो अन्तिम इच्छा भनेको तपाईं जुन चीतामा जल्नुभयो, त्यही चीतामा म पनि जल्न चाहन्छु । यो चीतादेखि म धेरै टाढा बस्ने भएकाले यो मेरो लागि संयोग नमिल्न पनि सक्दछ । तर, जुगौं जुगदेखि मेरा पूर्वजहरु जलेको ठाउँमा म पनि जल्न चाहन्छु, मेरी आमा । त्यसपछि अर्को जुनीमा म तपाईंकै कान्छो छोरो भएर जन्म लिन पाऊँ, यही नै मेरो अन्तिम इच्छा छ मेरी आमा ।

तपाईंको उही
अभागी गर्भे छोरो,
तपाईंकै चीताबाट ।

प्रतिक्रिया दिनुहोस्