Logo
Logo

कांग्रेसको वडा अधिवेशन स्थगित


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । यसअघि देशभर वडा अधिवेशन १२ साउनमा तोकिएको थियो । तर, शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले हालका लागि अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुुसार अब कहिले गर्ने भन्ने निर्णय हुन बाँकी छ । उनले पदाधिकारी बैठकमा वडाको अधिवेशन स्थगन गर्ने निर्णय भएको बताए ।

प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताए । उनले भने, ‘वडा अधिवेशन स्थगन हुनुको अर्थ केन्द्रीय महाधिवेशन पनि सर्छ भन्ने होइन । अहिले केन्द्रीय महाधिवेशनको मिति यथावत नै छ ।’
वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका थियो । तर, क्रियाशील सदस्यताको काम कार्यतालिका अनुसार नहुँदा महाधिवेशन समेत प्रभावित बनेको छ ।

शनिबार सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अहिलेसम्म समितिले गरेका कामको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्