Logo
Logo

जसपाका नेताहरुको सनाखत सुरु


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले निर्वाचन आयोगमा पुगेर सनाखत गर्न सुरु गरेका छन् । सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

विगतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमनलगायतका नेताहरु पनि निर्वाचन आयोगमा पुगिसकेका छन् । जसपाका कार्यकारिणी समिति सदस्यहरुको ‘हेड काउन्ट’ सुरु भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । जसपाको आधिकारिकता सम्बन्धी निर्णय आजै आउन पनि सक्ने उनको भनाई छ ।

जसपाभित्र देखिएको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई आयोगमा बोलाएको हो । आयोगलेअ ध्यक्षद्वय महन्थ उपेन्द्र यादव र महन्थ ठाकुरसहित केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई बोलाएको हो ।

जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको हो । आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ ।

अध्यक्ष यादवले आफू पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकोले जसपा आफूहरूको भएको दाबी गर्दै आएका छन् । यता ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने बताउँदै आएका छन् ।

दुबै पक्षले यस्तो दाबी गरेपछि जसपा आधिकारिकतामा विवाद बढेको हो। निर्वाचन आयोगले जसपा आधिकारिकताबारे विवाद भएपछि सुनुवाइ गरिरहेको छ । साउन ११ का लागि केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि आयोगले बोलाएको हो ।

अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट समेत दिएका थिए । आइतबार सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश भने दिएन ।

यो पनि

प्रतिक्रिया दिनुहोस्