Logo
Logo

ठाकुर र महतोले आत्मालोचना गरे पार्टीमा ठाउँ छ : यादव


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बाटो विराएकाले आत्मालोचना गरेर आए पार्टीमा सबैलाई ठाउँ दिने बताएका छन् । निर्वाचन आयोगमा पार्टी आधिकारिता विवादबारे आयोगले कार्यकारिणी सदस्यहरुको हस्ताक्षर गराइरहेका बेला बहुमतमा रहेका अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरुलाई आत्मालोचना गरेर पार्टीमा आउन उनले आग्रहसमेत गरे । विगतमा गरेका कमिकमजोरी तथा गल्तीबारे आत्मालोचना गरेर पार्टीमै फर्किन उनले आग्रह गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्ने बिषयमा विवाद हुँदा जसपाभित्र आधिकारिताको विवाद भएको हो । आधिकारिता विवादबारे टुंगो लगाउन निर्वाचन आयोगले हस्ताक्षर गराइरहेको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३५ र ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गर्ने दावी जसपा स्रोतको दावी छ । अहिले हस्ताक्षर संकलन गर्नेक्रम जारी रहेको छ ।

विगतमा तटस्थ रहेका राजकिशोर यादवले यादवकै पक्षमा हस्ताक्षर गरिसकेका छन् । ठाकुर-महतो पक्षमा रहेका मनिष सुमन, गोविन्द चौधरीले समेत यादवकै पक्षमा हस्ताक्षर गरेका छन् । जेलमा रहेका कार्यकारिणी समितिका सदस्य रेशम चौधरीको समेत जेलमै गएर हस्ताक्षर गराउँने बिषयमा सहमति भएको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्