Logo
Logo

पाकिस्तानका पूर्व कप्तान अफ्रिदीले एभरेष्ट प्रिमियर लिग खेल्ने


दृष्टि संवाददाता


काठमाडाैं । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स–११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् । काठमाडौं किङ्स–११ ले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अफ्रिदीले टोलीबाट ईपीएल खेल्ने जानकारी गराएको छ । अन्तराष्ट्रिय खेलाडीको रुपमा काठमाडौंले अफ्रिदीलाई अनुबन्ध गरेको हो ।

उनले पाकिस्तानका लागि २७ टेष्टमा १७ सय १६ रन र ४८ विकेट हात पारेका थिए । अफ्रिदीले ३ सय ९८ एकदिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र टी–ट्वान्टीमा ९९ खेल खेल्दै १४ सय १६ रन र ९८ विकेट लिएका थिए ।

यस अघि काठमाडौंले राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्धित गरिसकेको छ । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्