Logo
Logo

बझाङमा एमाले एकता अन्तिम चरणमा


दृष्टि संवाददाता


बझाङ । नेकपा एमालेभित्रको आन्तिरिक किचलो बढ्दै गएका बेला बझाङमा भने एमाले एकै ठाउँमा हुने भएको छ । पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई आत्मासात् गर्दै एकताका लागि छलफल भइरहेको पार्टीका जिल्ला अध्यक्ष अफिलाल ओखेडाले बताए ।

उनले भने, ‘पार्टी एकताका लागि भइरहेको अनौपचारिक छलफल अन्तिम चरणमा पुगेको छ । समन्वय तथा छलफल प्रभावकारी बन्दै गएको छ । जिल्लाभित्र र जिल्लाबाहिर रहेका नेताहरुसँग फोन तथा भेटेरै पनि छलफल भइरहेको छ ।’ जिल्लाका शीर्ष नेताहरुबाट केही दिनभित्रै औपचारिक रुपमा पार्टी एकताको सन्देश आउने उनको भनाइ थियो ।

पूर्ववनमन्त्री तथा एमाले नेता भानुभक्त जोशीले कार्यदलको सुझावअनुसार आफूहरु २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किने भएपछि सोही कमिटीलाई आधार मानेर एकताको पक्षमा उभिएको जानकारी दिए । उनले भने, ‘एमाले अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली कार्यदलको सुझावअनुसार अगाडि बढ्न सहमत भएकाले हामीहरु पनि एकताको पक्षमा उभिएका हाँै । जिल्लामा पार्टी एकताका लागि छलफल भइरहेको छ । सम्भव भएसम्म हामी चाँडै नै निष्कर्षमा पुग्नेछौँ ।’

जिल्लास्थित अन्य नेता तथा कार्यकर्ताहरुसँग पनि छलफल भइरहेकाले बझाङबाट चाँडै एकताको सन्देश आउने उहाँले भन्नुभयोे । जिल्लामा एमालेलाई एकताबद्ध बनाएर लैजान युवा नेताहरु पनि लागिपरेका छन् ।

हालसम्म एकताका पक्षमा सबै नेताहरु सकरात्मक भएकाले एकताको छलफल करीब अन्तिम चरणमा पुगेको अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आशाकुमारी विकले बताए ।

प्रतिक्रिया दिनुहोस्