Logo
Logo

स्थास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठसँग नाडा प्रतिनिधिमण्डलको छलफल


दृष्टि संवाददाता


काठमाडौं । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर अटोमोबाइल क्षेत्रका जनशक्तिलाई समयमै कोभिड–१९ को खोप लगाउनेसम्बन्धी छलफल गरेको छ । टोलीले राज्यमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना दिँदै सरकारका तर्फबाट अटोमोबाइल क्षेत्रका व्यवसायी, कर्मचारी, टेक्निसियन र देशैभर छरिएर रहेका श्रमिकका लागि खोप उपलब्ध गराउने विषयमा छलफल गरेको हो ।

भेटघाटमा नाडाका उपाध्यक्ष चौधरीले कोभिड–१९ को कारण नेपालको समग्र अटोमोबाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोबाइल क्षेत्रबाट प्राप्त गर्ने राजस्वमा समेत परेको बताए । सरकारले लगाएको निषेधाज्ञा हाल केही खुकुलो भए पनि अटोमोबाइल क्षेत्रसँग जोडिएका मानिसहरू खोपको अभावमा आफ्नो कार्यक्षेत्रमा जान नसकेको उनको भनाइ थियो । खासगरी व्यवसायको फ्रन्टलाइनमा बस्ने कर्मचारी र श्रमिकलाई धेरै समस्या भएको चौधरीले बताए ।

छलफलमा चोधरीले अटोमोबाइल व्यवसायलाई थप गतिशील बनाउन खोपको टड्कारो आवश्यकता भएकाले तत्काल खोप उपलब्ध गराइदिने व्यवस्थाका लागि आग्रह गरेको नाडाले जनाएको छ । राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिएको जनाइएको छ । यसैक्रममा टोलीले स्वास्थ्य तथा जनसंख्यासचिव लक्ष्मण अर्याललाई भेटी आवश्यक खोप उपलब्ध गराइदिन अनुरोध गरेको नाडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्