Logo
Logo

पत्रकारिता किन पढ्ने ?


प्रदीपराज दाहाल


तपाईंलाई सिमेन्ट र बालुवा घोलेर पर्खाल लगाउन आउँछ । अनुभवकै आधारमा घर बनाउन सक्नुहुन्छ । फरक यति हो, त्यसका मापदण्डबारे तपाईसँग ज्ञान भएन भने त्यो घर कुनै पनि बेला भत्कन सक्छ । यसको मतलव कुनै पनि कामका लागि दक्षता आवश्यक हुन्छ ।

भन्न खोजिएको के हो भने– पत्रकार बन्ने इच्चा भएकाले ‘फलानाले बताए’ प्रकारको टिपोट बनाउन सक्लान् । तर, समाचार निर्माणको मापदण्ड, आचारसंहिताअनुसार त्यो सूचनालाई समाचारको ढाँचामा परिणत गर्न भने पढ्नै पर्छ । अर्थात्, पत्रकार बन्न पत्रकारिता पढ्न आवश्यक छ ।

भनिन्छ, पत्रकारिता समाजको ऐना हो । सही र गलत छुट्याउन सक्ने नै पत्रकार हो । समाजलाई सही मार्गदर्शन गराउन पत्रकारिताको भूमिका महत्वपूर्ण हुन्छ । यतिका लागि व्यावहारिक ज्ञानले पुग्ला तर सम्बन्धित विषयको सैद्धान्तिक ज्ञानले उसलाई अझ परिष्कृत र जिम्मेवार बनाउँछ ।

पत्रकार अविरल थापाको २०७२ सालमा प्रकाशित एउटा लेखमा भनिएको छ– ‘लेखेको तथ्य ठीक भयो वा भएन, कहाँनिर चुक्यो वा शब्दहरू उत्तर÷दक्षिण कतातिर बढी झुके ? त्यो पर्गेल्नचाहिँ पढ्न अतिआवश्यक छ । व्यावसायिक सीमा र मर्यादा ननाघ्न, आचारसंहिताको क्षितिज नभत्काउन, यो विषय पढ्नै पर्छ ।’

चिकित्साशास्त्र पढेका सबै चिकित्सक बन्दैनन् । व्यवस्थापन संकाय पढेका सबै कुशल व्यवस्थापक हुँदैनन् र पत्रकारिता पढेका पनि सबैले पत्रकारिता गर्दैनन् । तर, चिकित्सक नबने पनि कम्तिमा भविश्यमा औषधि खरिद गर्दा उसलाई औपचारिक शिक्षा काम लाग्छ । त्यसरी नै पत्रकारिता पढेर पत्रकार नै नभए पनि जीवनका कुनै न कुनै पाटोमा त्यो अध्ययन काम लाग्छ । तर, सिद्धान्तको फराकिलो ज्ञानले दह्रोगरी खुट्टा टेकेर लेख्न भने ज्ञानले नै मद्दत गर्छ । त्यसैले पत्रकार बन्न चाहिँ पत्रकारिता पढ्नै पर्छ ।

गुरुवरबाट केही कुरा

मेरा दुई गुरुवरको धारणा यहाँ उपयुक्त हुनेछन् । गुरुद्वय श्रीराम पौडेल र ऋषिकेश दाहाल त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार विभागका उपप्राध्यापक हुनुहुन्छ । केही समय अगाडि उहाँसगको भेटमा मैले सोधेको थिएँ–

गुरु ! पत्रकार बन्न पढ्नुपर्छ ?

पत्रकारिता पेसामा आउन पत्रकारिताको औपचारिक शिक्षा अनिवार्य भन्ने छैन । तर, औपचारिक अध्ययन गरे स्थापित हुन सहज हुन्छ । पत्रकारिताका अध्ययन गरे सुनमा सुगन्ध हुन्छ, गुरु ऋषिकेशको धारणा हो । गुरु ऋषिकेशकै धारणामा गुरु श्रीरामले पनि थपे– ‘सम्बन्धित विषयको सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गर्दै उचित निर्णय गर्ने क्षमता विकास गर्न पढ्नुपर्छ । पत्रकारितामा पनि यही कुरा लागू हुन्छ ।’

पत्रकारिताको पढाइ कस्तो हुनुपर्छ ? भन्ने मेरो जिज्ञासामा गुरु श्रीरामको धारणा–
विषयगत मूल्यमान्यताको व्याख्या र अभिवृद्धिका लागि सैद्धान्तिक ज्ञान अनिवार्य रहन्छ । प्रविधिको विकाससँगै हेर्ने, पढ्ने र सुन्ने परिपाटी विकास भएको छ । आजको दुनियाँ यसैमा अभ्यस्त छ । समाचार प्रस्तुतिले बहुआयाम आवश्यक ठान्छ । प्रविधिले फड्को मारेसँगै समाचार संकलन, सम्पादन र प्रकाशन÷प्रशारणमा आमूल परिवर्तन आइसकेको छ । यो पाटोलाई आत्मसाथ गर्ने कोर्ष बन्नुपर्छ । पत्रकारिताका आदर्श, सिद्धान्त र मर्यादा समान रहे पनि प्रस्तुतिमा व्यापक परिवर्तन आजको आवश्यकता हो । सिर्जनशीलताको त सीमा नै हुँदैन । पत्रकार सधै सिर्जनशील हुनु पर्छ ।

पत्रकारिता अध्ययन र व्यावसायिक जीवन
पत्रकारिता विषयको औपचारिक अध्ययन पत्रकार बन्नकै लागि हो । तर, पत्रकारिता अध्ययन गरेका सबै पत्रकार नै बन्नु पर्छ भन्ने हुँदैन । पत्रकारिता नै नगरे पनि आमसंचारको अध्ययनले व्यावसायिक जीवनका धेरै बाटोहरु खोलिदिन्छ । पत्रकार बन्न चाहनेका लागि यहाँका रेडियो, टेलिभिजन, पत्रिका र अनलाइनहरुमा अथाह अवसर छ । पत्रकारिता नै नगर्नेहरुका लागि पनि त्यतिकै अवसर छन् । एड्भर्टाइजिङ एजेन्सी, एनजीओ/आईएनजीओ, अनुसन्धान क्षेत्र, जनसम्पर्कको क्षेत्र र शिक्षण/अध्यापन जस्ता धेरै क्षेत्रमा राम्रो अवसर हुने गुरु श्रीरामको धारणा छ ।

व्यावसायिक पत्रकारिता र आम्दानी
सरकारी जागिर खाने हो भने सरकारले तोकेको तहअनुसारको तलब पाइन्छ । पत्रकारिता गर्ने हो भने सरकारले न्यूनतम तलब २४ हजार रुपैयाँभन्दा माथि तोकेको छ । तर, आफ्नो क्षमता दक्षताको आधारमा योभन्दा पनि बढी कमाउन सकिन्छ । नेपालमा त्यस्ता पत्रकार पनि छन्, जो मासिक ४ लाख रुपैयाँभन्दा बढी तलब लिने गर्छन् ।

पत्रकारिता गरेर जीवन धान्न सकिन्छ त ? भन्ने आम प्रश्न हो । यस विषयमा जनभावना क्याम्पसका उपप्राध्यापक तथा पालिकाखबर डट कमका सम्पादक डिल्ली आचार्य धारणा यहाँ उपयुक्त हुन्छ । उनको धारणा यस्तो छ–

‘पत्रकारिता गरेर मज्जाले जीवन यापन गर्न सकिन्छ । तर, त्यसका लागि पत्रकारितालाई जागिर होइन, करियर ठानेर काम गर्नुपर्छ । पेसामा स्थापित भएकाहरूले बजार होइन, बजारले यस्ता जनशक्ति खोजिरहेको छ, जसले दाम बढाबढमा सञ्चार माध्यम रोजेर काम गर्छन् । मागेकोजति तलब लिन्छन् । र, यो सैद्धान्तिक नभएर व्यावहारिक पक्ष हो, जुन नेपाली मिडिया बजारमा अभ्यास भइरहेको छ । लगनशीलता र धैर्य भने अनिवार्य शर्त हो ।’

विदेशमा पत्रकारिताको सम्भावना
नेपाली मिडियामा लामो समय काम गरेका कतिपय पत्रकार विदेशी भूमिमा पनि पत्रकारिता गरिरहेका छन् । कतिपय पत्रकारले त बीबीसी, सीएनएन र अलजजिरा जस्ता प्रतिष्ठित संस्थामा काम गरिरहेका छन् ।
आजको समय सानो घेरामा सिमित रहन सक्दैन । यहाँ मिडियासमेत विश्व बजारमा आफ्नो उपस्थितिका लागि प्रयत्न गरिरहेका छन् । यहाँका स्थापित संचार संस्थाले विभिन्न देशमा यहाँबाट नै प्रतिनिधि खटाउन थालेका छन् । यो क्रम अझ बढ्ने छ । पेसागत रूपमा दक्ष र लगनशील पत्रकार यहाँका मिडियाका लागि विदेशी भूमिबाट काम गर्ने वातावरण बन्दै गएको छ ।

पत्रकार उत्पादनको अवस्था
मेरा एक सहकर्मी । पत्रकार बन्ने उनको इच्छा । प्लस २ र स्नातकमा आमसञ्चार तथा पत्रकारिता पढे । उनलाई लागेको थियो, अब पत्रकार भएँ । एउटा नाम चलेको पत्रिकामा केही समय इन्टर्न भए । सम्पादकले समाचार लेख्न भन्यो । धेरै पटक लेखेर देखाए । तर, सम्पादकलाई चित्तै बुझेन । फेरि लेख्न भने । तर, उनले सकेनन् । हरेस मानेर त्यहाँबा बाहिरिए । त्यसपछि सिक्ने दृढता देखाए । पत्रिकामा आउने समाचार हेरे र औपचारिक शिक्षाका क्रममा आर्जन गरेका ज्ञान र व्यावहारिक पक्षलाई बारम्बार दाँजेर हेरे । अग्रजसँग सल्लाह लिए । त्यसपछि ऊ साच्चिकै पत्रकार भए । अहिले एउटा अनलाइनको सम्पादक छन् ।

भन्न खोजिएको के हो भने– ‘पढेर मात्र पत्रकारिकता गर्न सकिन्न ।’ पत्रकारिता पढाउने संस्थाबाट उत्पादित धेरै विद्यार्थी मेरा साथी जस्तै हुन् । जोसँग सैद्धान्तिक ज्ञान छ तर व्यावहारिक पक्षमा कमजोर । यहाँ शैक्षिक संस्थामा प्लस २ देखि स्नातकोत्तरसम्म पत्रकारिता पढाइ हुन्छ । तर, दक्ष जनशक्ति उत्पान गर्न कसैले सकेका छैनन् ।

कस्तो हुनुपर्छ पत्रकारिताको औपचारिक शिक्षा ?
अहिले हामी जुन शैलीले अध्ययन, अध्यापन गराइरहेका छौँ, त्यसले मिडिया लिटरेसीचाहिँ पर्याप्त बढाइरहेको छ । तर, पेसागत रूपमा दक्ष जनशक्ति उत्पादन गर्न सकिएको छैन । पत्रकारिताको पढाइ व्यावहारिक हुनुपर्छ । पत्रकारिताको स्तर कमजोर हुँदै जानुमा हाम्रो अध्ययन÷अध्यापनको शैली र कोर्ष मुख्य कारण हो । प्रमाणपत्रले मात्र पत्रकारिता पेसामा आफूलाई स्थापित गर्न सकिदैन । बजारको आवश्यकताअनुसार अध्ययन÷अध्यापन र त्यसका लागि उपयुक्त कोर्ष आजको आवश्यकता हो । पत्रकारिताका अध्यापक ऋषिकेशको यो धारणासँग असहमत हुने ठाउँ छैन ।

पत्रकारिता पढाउने कलेजहरूको अवस्था
अन्य विषय अध्यापन गराउने शैक्षिक संस्थाहरूमा सम्बन्धित विषयसँग सम्बन्ध राख्ने ल्याब हुन्छ् । तर, पत्रकारिता पढाउने कलेजमा अध्यापक, विद्यार्थी र पुस्तक बाहेक अरु हुँदैन । विज्ञान तथा प्रविधि अध्यापन गराउने कलेजहरूले सम्बन्धित ल्याबहरू बनाएका हुन्छन् । उनीहरूले पढेको कुरा व्यावहारिक अभ्यास त्यही गर्छन् । तर, पत्रकारिता अध्ययन गर्ने विद्यार्थीले त्यो अवसर नै पाउँदैनन् । किनकी, त्यहाँ पढ्ने बाहेक अभ्यास गर्ने संरचना नै हुँदैन । पत्रकारिता अध्यापन गराउने शैक्षिक संस्थाहरूले अन्य विषय जस्तै व्यावहारिक शिक्षाको व्यवस्था गर्नुपर्छ ।

विश्वविद्यालयले अब के गर्नुपर्छ ?
सैद्धान्तिक शिक्षाको महत्व छ । तर, व्यावहारिक ज्ञान विनाको सैद्धान्तिक शिक्षा जीवनपयोगी हुँदैन । यहाँ शैक्षिक संस्था तथा विश्वविद्यालयहरूमा सैद्धान्तिक शिक्षा मात्र पाइन्छ । कोर्षमै समाचारको एंगल, प्रस्तुतीजस्ता व्यावहारिक पक्ष समेटिनुपर्छ ।

प्लस टुमा समाचार कसरी लेखिन्छ भनेर सैद्धान्तिक कुरा पढाइन्छ । तर, समाचार खोजेर ल्याउने र लेख्न लगाउने व्यावहारिक अभ्यास हुँदैन । हाम्रो कोर्षहरूमा ‘न्यू मिडिया’ले स्थान नै पाएको छैन । आजको पत्रकारिता ‘न्यू मिडिया’मा आधारित छ । छिट्टै ‘न्यू मिडिया’ले कोर्षमा स्थान पाएन भने अबका उत्पादन झनै अर्थहीन हुनेछ ।

एउटै बिटमा लामो समय कलम चलाउने पत्रकार कालान्तारमा त्यस विषयको विज्ञ बन्न सक्छ । तर, यहाँ बिट पत्रकारिता हराउँदै गएको छ । विश्वविद्यालयहरुले बिट पत्रकारिताको महत्व बुझाउन सकेका छैनन् । पढाउन सकेका छैनन् । यसतर्फ पत्रकारिता अध्यापन गराउने शैक्षिक संस्था र विश्वविद्यालयहरूले तत्काल पहल गर्नुपर्ने पत्रकारिताका अध्यापक श्रीरामको धारणा छ ।

बजारमा दक्ष पत्रकारको अभाव छ । अहिले पनि राम्रा पत्रकारलाई आकर्षक पारिश्रमिकसहित खोजी गर्ने मिडिया धेरै छन् । त्यसकारण पत्रकारिता पढ्नेका लागि धेरै अवसर छ । पत्रकारिता पढ्न विद्यार्थीले संकोच मान्नु पर्दैन । तर, कक्षामा पढेकैै भरमा पत्रकार बन्न सकिँदैन । त्यसका लागि विद्यार्थीमा पेसागत इच्छाशक्ति अधिक हुनुपर्छ ।


(लेखक पत्रकारिताका अध्यापक तथा पत्रकार हुन् ।)

प्रतिक्रिया दिनुहोस्