Logo

सार्वजनिक बिदा भनेकै थाहा भएन !


दृष्टि संवाददाता


काठमाडौं । गत वर्ष कोरोना भाइरसका कारण देशभर बन्दाबन्दी थियो । मोरङको केराबारी साझेदारी वन क्षेत्रमा गस्तीमा रहेका सलकपुर सबडिभिजन वन कार्यालयमा कार्यरत रेन्जर विजय प्रजामाथि शिकारीले अन्धाधुन्ध गोली चलाए । सिकारीको सात राउन्ड फायर छलेर रेन्जर विजय प्रजाको ज्यान जोगियो । सो घटनामा विक्षिप्त हुनुभएका रेन्जर प्रज्ञा सामान्य अवस्थामा आउन महिनौँ दिन लाग्यो ।

गत वर्ष गैँडा गणनामा खटिनुभएका बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी पुलिसराम चौधरीले बाघको आक्रमणबाट ज्यान गुमाउनुप(यो । गैँडा गणनाका क्रममा चितवनमा ध्रुवे हात्तीको आक्रमणमा परी राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठको तत्काल हेलिकप्टरबाट उद्धार हुँदा ज्यान त बच्यो तर हालसम्म उहाँ अस्पतालबाट घर फर्किन सक्नुभएको छैन । वन, वन्यजन्तु तथा समग्र जैविक विविधताको संरक्षण गर्दा अग्रपङ्क्तिमा काम गर्ने वन कर्मचारी अर्थात् रेन्जरले भोग्नुपरेका पीडाका यी प्रतिनिधिमूलक घटना हुन् ।

अन्तर्राष्ट्रिय रेन्जर महासङ्घले अग्रपङ्क्तिमा काम गर्ने सबै तहका वन कर्मचारीलाई सम्बोधन गर्ने साझा शब्द ‘रेन्जर’ भनेर परिभाषित गरेको छ । तर नेपालमा भने रेन्जर पदको व्यवस्था गरिएकाले रेन्जर भनेर वन कार्यालयको कर्मचारी भनेर मात्र बुझ्ने गरिन्छ । अग्रपङ्क्तिमा काम गर्ने वन कर्मचारीको हक हितका लागि आवाज उठाउने र शिकारीको गोली लागेर होस् वा वन्यजन्तुको आक्रमणमा परेर होस्, विभिन्न कारणले मृत्युवरण हुन पुगेको वन कर्मचारीको सम्झना गर्ने दिनका रूपमा विश्वभरि ‘रेन्जर दिवस’ मनाउने गरिएको छ । नेपालले पनि शनिबार यो दिवस विभिन्न कार्यक्रमका साथ मनाउनेछ ।

बाँके राष्ट्रिय निकुञ्जमा कार्यरत रेन्जर निलम कार्कीको फिल्ड स्तरमा काम गर्दाको अनुभव निकै चुनौतीपूर्ण रहेको छ । उहाँलाई गस्तीमा जाँदा आफूभन्दा हतियारले सुसज्जित सिकारीको निसाना पर्ने सम्भावना बासस्थानमा नफर्किउन्जेलसम्म भइरहन्छ । रेन्जर कार्की भन्नुहुन्छ, ‘‘न गर्मी न जाडो । २४सै घण्टा गस्ती र काममा हिँड्नुपर्छ । सार्वजनिक बिदा भनेकै थाहा भएन अझैसम्म । राति १२ बज्यो भनेर मस्तले सुतेको रात छैन हाम्रो । चोरीसिकारी नियन्त्रणका लागि जति बेला शङ्का लाग्छ, हातको गाँस मुखमा हाल्न छाडेर पनि दौडिनुपर्छ ।’’् कोसी टप्पु वन्यजन्तु आरक्षमा कार्यरत अर्का रेन्जर लक्ष्मी खालिङ राईको अनुभव पनि उस्तै खालको छ ।

उहाँले भन्नुभयो, ‘‘शनिबार, सार्वजनिक बिदा त हामीले भोग्न र देख्न पाएको हुँदैनौँ । निद्राले आँखा मिच्दै सिकारीको पछाडि गस्तीमा दौडिनुपर्ने जिन्दगी छ हाम्रो । व्यक्तिगत जीवन अनि घरपरिवार र सामाजिक सम्बन्ध निकै टाढाका कुरा हुन्छन् । ’’ अग्रपङ्क्तिमा खटिने वन कर्मचारीको कामको प्रकृतिअनुसार वन सेवालाई अत्यावश्यक सेवामा राख्नुपर्ने माग धेरै पहिलेदेखि उठ्दै आएको हो । संरक्षणमा खट्ने कर्मचारीको यो मागको सुनुवाइ नभएको गुनासो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाको छ ।

वन तथा वातावरण मन्त्रालयका पूर्वसचिव डा. विश्वनाथ ओली संरक्षणको अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीको कामको प्रकृति आम निजामती सेवाभन्दा फरक भएकाले अत्यावश्यक सेवा घोषणा गरी आवश्यक थप सेवा सुविधा दिनुपर्ने बताउनुहुन्छ । संरक्षणका काममा दूरदराजमा खटिनुपर्छ, वृत्ति विकासका कार्यक्रम र प्रोत्साहन गर्ने योजना केही नभएकाले संरक्षणको अग्रपङ्क्तिमा खटिने कर्मचारीको मनोबल उच्च हुन सकिरहेको छैन ।

त्यसैले दुर्गममा बसेका कर्मचारी र सुगममा बसेका कर्मचारीको सरुवाको मापदण्ड, प्रोत्साहन भत्ता र वृत्ति विकास योजना सरकारले ल्याउनुपर्ने वन प्राविधिक सङ्घका अध्यक्ष डा. किरण पौडेलले बताउनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्