
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले वचन तोडेको आरोप लगाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा प्रचण्डले पहिलो चरणको प्रधानमन्त्री बनाउँछु भनेर गरेको प्रतिवद्धता कार्यान्वयन गर्न नमानेर देउवाले वचन तोडेको बताएका थिए ।
जवाफमा देउवाले आफू पहिलो कार्यकालको प्रधानमन्त्री छोड्न तयार रहेको भए पनि पार्टीका नेताहरूले नमानेको जवाफ दिएका थिए ।
देउवाले पार्टीका नेताहरूको नाम लिएर प्रचण्डलाई प्रधानमन्त्री नछोड्ने संकेत गरेपछि गठबन्धनको बैठक चलिरहेका बेला प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल भने बाहिरिएका थिए ।