Logo
Logo

बिओकेद्वारा क्लियरिङका चेक मेसिनबाट जम्मा गर्ने सेवा सुरु


756
Shares

काडमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने अभिप्रायसहित विभिन्न सेवाहरुलाई डिजिटल तवरले प्रदान गर्दै आइरहेकामा ग्राहक सुविधालाई मध्यनजर गर्दै बैंकमा अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ चेकहरु कियोस्क मेसिनमर्फत जम्मा गर्न सकिने सेवा सुरु गरेको छ ।

यस नयाँ सेवामार्फत ग्राहकले बिना कुनै झन्झट सजिलैसँग मेसिनमा चेक जम्मा गर्न सक्ननेछन् । ग्राहकले भौतिक रुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङका चेक मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने ब्यवस्था रहेको बैंकले जनाएको छ ।

ग्राहकले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्ने व्यक्तिको सम्पर्क नम्बर तथा क्लियरिङ सेसनलगायतका विवरण राखेपश्चात् जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा गर्नसक्नेछन् । उक्त चेक जम्मा भएपश्चात् ग्राहकले चेक जम्मा भएको प्रमाणिकरणका लागि मेसिनबाट जारी हुने भौचर प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकले उक्त सेवा हालका लागि मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयमा विस्तार गर्ने योजना रहेको जनाएको छ । कियोस्क मेसिनमार्फत क्लियरिङ चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नका लागि भौतिकरुपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बस्नु नपर्ने भएकाले ग्राहकलाई सहजता मिल्ने भएको छ ।

बैंकले हाल १०४ शाखा कार्यालय, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्