काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भावी पुस्तालाई स्वदेशमै टिकाउने लक्ष्यसहित स्मार्ट र डिजिटल पूर्वाधार निर्माण आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
आफूलाई साथीभाइहरूले सामान्य पूर्वाधार नभई अब डिजिटल रोड बनाउन आवश्यक रहेको सुझाव दिएको उल्लेख गर्दै मन्त्री पुनले तत्काल त्यसो गर्न नसकिए पनि त्यसतर्फ दृष्टिकोण राख्नुपर्ने बताए ।

आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘आईटी डिकेडः अ वे फर्वार्ड’ कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले नयाँ पुस्ता सुहाउँदो आर्थिक सुधारका लागि आफूले बजेटमार्फत पहल गरेको आशय साझा गरे ।
‘नयाँ चरणको आर्थिक सुरधार भन्नु नै नयाँ पुस्ता सुहाउँदो आर्थिक सुधार भन्न खोजिएको हो,’ उनले भने, ‘धेरै साथीले मलाई सुझाव दिइरहेका छन्( अब डिजिटल रोड चाहिन्छ । अहिलेको सामान्य पूर्वाधारले हुँदैन, स्मार्ट र डिजिटल पूर्वाधार चाहियो । हामीले अहिले नै यो बनाउन नसकौँला तर दृष्टिकोण त राख्नुपर्छ ।’
विश्वका ठूल्ठूला प्रविधि कम्पनीमा नेपाली जनशक्ति र प्रतिभाहरूले काम गरिरहेको बताउँदै उनले अब नीतिगत व्यवस्थामार्फत नै ‘ब्रेन गेन’को माहोल बनाइने उल्लेख गरे । सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्व कायम हुनेमा उनले प्रतिबद्धता व्यक्त गरे ।