
काठमाडौं । गएराति परेको अविरल वर्षाका कारण प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृह डुबानमा परेको छ । निकासको राम्रो व्यवस्था नहुँदा ठूलो पानी पर्नासाथ सभागृह डुबानमा पर्ने गरेको छ ।
अहिले दुईवटा मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ । सभा गृहको भवनमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय पनि रहेको छ । जनताको घर तथा बस्ती डुबानमा पर्दा जोखिममुक्त बनाउने स्थानीय सरकार काठमाडौँ महानगरपालिका आफैँ डुबानमा परेको हो ।
सभागृहभित्र राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफएम, नगर प्रहरी सुरक्षा कक्ष जलमग्न भएका छन् ।सभागृह डुबानमा परेपछि राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राही बिहानैदेखि जलमग्न स्थानमै लाइन बसिरहेका छन् ।
केही दिनअघि वर्षाका कारण काठमाडौंको बागमती, विष्णुमती तथा धोबीखोला आसपासका क्षेत्र डुबानमा परेको थियो । त्यसबेला महानगर प्रमुख बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए ।
हरेक वर्षायाममा घण्टाघर र रत्नपार्कदेखिको पानीको भेल प्रदर्शनीमार्गको नाला हुँदै टुकुचा खोलामा जाने गर्थ्यो । तर यस वर्ष सभागृहको गेटदेखि टुकुचासम्मको पैदलमार्ग फराकिलो बनाउने क्रममा नाला विस्थापित गरी ह्युम पाइप बिछ्याएको छ ।
त्यस्तै सभागृहको पानी निकासको ढल पुलिस क्लबतर्फबाट टुकुचासम्म लगिएको थियो। अहिले महानगर आफैँले सभागृह पुनःनिर्माण गर्दा पश्चिमतर्फको ढलको मंगालको निर्माण गरेको तर निकास नबनाएको कारण सभागृह डुबानमा परेको स्थानीयहरुको भनाई छ ।