काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको तार्केश्वर- ९ स्थित मनमैजु र नागाजुर्नमा सञ्चालित ३ वटा खाद्य गोदाममा छापा मारेको छ ।

नाम चलेका कम्पनीको बोरामा कमसल चामल प्याक गरेर बेचेको सूचनाको आधारमा गोदाम सिल गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार गोदाम सञ्चालकहरूले बजारमा चलेका ३१ वटा कम्पनीको खाली बोरामा प्याक गरेर कमसल चामल बजारमा पठाउने गरेको भेटिएको छ । मनमैजुमा सञ्चालित देवकोटा चिउरा तथा चामल मिलमा छापा मारेर स्थानीय प्रशासनले २५ सय १६ बोरा चामल र १ हजार ४३ बोरा चिउरा सहित गोदाममा सिल लगाएको छ ।
त्यस्तै, बलराम देवकोटा र गोपाल देवकोटाले सञ्चालन गरेको सो गोदाम कल्पना देवकोटाको नाममा दर्ता रहेको भेटिएको छ । नागार्जुन-६ भीमढुंगामा खगेन्द्र खत्रीले सञ्चालन गरेको गोदाममा १६ सय ४६ बोरा चामल, ५४ बोरा चिनी र नाम चलेका आटा ११ बोरा र दाल सहित गोदाम सिल गरिएको छ ।
त्यस्तै, नागार्जुन–४ स्थित मुकेश सिंहले सञ्चालन गरेको ढीमाई प्याकेजिङ उद्योगमा ४७ सय ५ बोरा चामल फेला परेको छ । ३ जना सञ्चालकहरूलाई प्रहरीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई आवश्यक अनुसन्धानको लागी जिम्मा लगाएको छ ।