Logo
Logo

शाखा अधिकृतसँग बिहे गर्न खोज्दा युवतीहरुको बिचल्ली


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २८ चैत ।
नेपालमा सरकारी जागिरेको सान छ । सरकारी जागिरेप्रति युवतीहरुको पनि आकर्षण छ ।
एक शाखा अधिकृतसँग लोभिदा हाल काठमाडौंमा केही युवतीहरु ठगिएका छन् । एक ठगले आफू शाखा अधिकृत भएको भन्दै भ्रममा पारेर युवतीहरुलाई ठगी र शोषण गरेका हुन् ।
डोटी घर भएका २६ वर्षिय केशबराज भट्टले यसरी ठगी गरेका हुन् । उनलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको छ ।


प्रहरीका अनुसार उनले आफू अधिकृत भएको र उच्च पदस्थसँग चिनजान भएको भनेर फेसबुकमा फोटो राख्दथे । अपरिचित युवतीहरुलाई फेसबुकमा साथी बनाउने र उनीहरुसँग नजिकिएर बिहेको प्रस्ताव राख्दथे । उनी सरकारी कर्मचारीले नै लगाउने पोशाक समेत लगाएर हिड्ने गरेको प्रहरीले जनाएको छ ।
विभिन्न बहाना गरी तीन युवतीसँग रकम समेत लिएका थिए । कतिपय युवतीको उनले चरिहत्या समेत गरेका थिए । साइबर क्राइम मुद्दामा उनीविरुद्ध कारबाही अघि बढाइएको अपराध महाशाखाले जनाएको छ।

अमेरिका बस्ने ज्वाई खोज्दा घर गुम्यो, छोरीको बिचल्ली

नेपालीको विदेश मोह अचम्मको छ । यूरोप–अमेरिका जानका लागि करोडौं खर्च गर्न पछि पर्देनन् । अझ युवतीहरु यूरोप–अमेरिका बस्ने केटा भनेपछि हुरुक्कै हुने गरेका छन् । त्यही मोहका कारण केही युवतीहरुको बिचल्ली समेत भएको छ ।
आफू अमेरिकाको पिआर होल्डर भएको र बिहे गरेर अमेरिका लैजाने भन्दै एक युवकले सजिलै काठमाडौंमा पाँच युवतीलाई यौन शोषण गरी लाखौं रुपैयाँ ठगी समेत गरेका छन् । युवक पक्राउ परेपछि प्रहरीमा पीडित युवतीहरुको लर्काे लागेका छ ।
प्यूठान घर भएका ३१ वर्षिय शशिधर खड्काले यसरी युवतीहरुलाई ठगी र यौनशोषण गरेका हुन् । महानगरीय प्रहरी परिसरले उनलाई गत साता पक्राउ परेको छ ।
काठमाडौंकी एक युवतीको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । ती युवतीलाई उनले गत वर्ष एक बिहेको भोजमा भेटेका थिए । युवक चिटिक्क परेर हिड्थे । उनको उदेश्य नै युवतीहरुलाई आकर्षित गराएर ठगी र शोषण गर्नु थियो ।
बिहेमा भेटेकी ती युवतीलाई उनले आफू अमेरिका बस्ने भन्दै प्रभावमा पारे । युवती सहजै उनको नक्कली माया जालमा परिन् । केही महिनामै आफ्ना बुबा–आमालाई समेत भेटाइन् । बिहे गर्ने सहमति भयो । बिहे गरेर अमेरिका जानुअघि नेपालमै बस्ने भएपछि युवकलाई उनीहरुले आफ्नै घरमा बैंकमा राखे । घरज्वाई जस्तै गरी उनी युवतीको घरमा बसे, लिभिङ टुगेदरका रुपमा ।
अमेरिका जान युवतीले पासपोर्ट पनि बनाइन् । भिसा प्रक्रियाका लागि अमेरिकाबाट पैसा ल्याउन समस्या भएको भन्दै उनले युवतीकै परिवारलाई पैसा मिलाउनुपर्ने बताए । छोरीलाई बिहे गरेर अमेरिका पठाउने भएपछि पैसा दिन उनको परिवार तयार भयो । भिसा प्रक्रियाका लागि भनेर पैसा लिएपछि घरज्वाई टाँढा हुँदै गए । बिस्तारै उनी घरमै आउन छाडे । फोन गर्दा मोबाइल नै अफ हुन थाल्यो । मोबाइल नै अफ भएपछि आफूहरु ठगिएको ठानिएर उनीहरु प्रहरीमा गएका हुन् । पक्राउ परेपछि उनले ती युवती र उनको परिवारलाई चिन्दै नचिनेको बताएपछि उनीहरु छाँगाबाट खसेजस्तो भए ।
एकातर्फ छोरीमाथि शोषण र अर्काेतर्फ घर बैंकमा राखेर निकालेको करिब ४० लाख डुबेको थियो । अमेरिकी ज्वाईको मोहमा पनि सो परिवार यतीबेला बर्बाद भएको छ ।
बर्बाद हुनेमा उनीमात्र होइन । खड्काबाट पीडित अन्य चार युवती प्रहरीमा पुगिसकेका छन् । ललितपुरकी एक विवाहित महिलालाई त उनले अमेरिका लैजाने भन्दै श्रीमानसँग डिभोर्स गर्न लगाएका थिए । अमेरिका मोहले पैसा त डुबाइन्् नै वैवाहिक जीवन समेत उनको अस्तव्यस्त हुन पुगेको छ । धादिङकी अर्की एक युवती पनि उनीबाट सिकार भइसकेकी खुलेको छ । तीन जनाले उजुरी दिइसकेको र अन्य दुई जना उजुरी दिने क्रममा छन् ।
सबै युवतीलाई फरक फरक नाम भन्ने गरेका थिए । कसैलाई गुलाब सिंह त कसैलाई क्षिजितका नामले उनले चिनाउँथे । धेरैलाई अमेरिकाको पिआर होल्डर भनेर प्रभावमा पारी उनले ठगी र शोषणा गर्दै आएको काठमाडौं परिसरका डिएसपी होमिन्द्र बोगटी बताउँछन् । उनको धन्दा नै युवती ठगी भएको र निकै चलाखीपूर्वक ठगी गर्दै आएका थिए । उनीविरुद्ध बलात्कार मुद्दामा पनि प्रहरीले कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्