Logo
Logo

लोकल रक्सीलाई ब्रान्ड बनाउन प्रतिवेदन



विराटनगर । लोकल रक्सीलाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउनुपर्छ भन्ने अवधारणालाई मूर्तरूप दिन गठित सम्भाव्यता अध्ययन समितिले सामाजिक विकास मन्त्री उषाकला राईलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

सोमवार प्रतिवेदन बुझ्दै मन्त्री राइले ब्यान्ड भर्सेस ब्रान्ड प्रदेश सरकारको गौरवको योजना भएको बताइन् । सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डिङ तथा बजारीकरणका लागि गठन गरेको ‘ब्यान्ड भर्सेस ब्रान्ड’ अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन बुझ्दै मन्त्री राईले उक्त कुरा बताएकी हुन् ।

उनले प्रदेश १ मा रहेको स्रोतसाधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै ब्यान्ड भर्सेस ब्रान्ड अवधारणा ल्याइएको बताइन् । कानूनी अड्चनहरूलाई हटाउँदै अवधारणालाई कार्यान्वयन गर्नुपर्ने मन्त्री राईकोे भनाइ छ । प्रतिवेदन ग्रहण गर्दै उनले भनिन्, ‘प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनोट गरेर कोदो लगाउन शुरू गर्नेछ ।’ उनले बनमारा मासेर कोदो लगाइने स्पष्ट पारिन् ।

मन्त्री राइका अनुसार गाउँपाखामा रहेको बनमारा उखेलेर कोदो रोपिनेछ । सामाजिक विकास मन्त्री राईले नेपालको उत्पादनलाई छिमेकी देशहरू भारत र चीनमा लगेर बजारीकरण गर्नुपर्ने बताइन् । नेपाली घरेलु मदिराको उत्पादन शुरू भएपछि यो विश्वमा उत्पादितभन्दा सयौं गुणा राम्रो गुणस्तरको हुने उनको दाबी छ ।

उनले गुणस्तरीय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानूनविज्ञ लगायतको टिम निर्माण गरिने जानकारी गराइन् । कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूर्ण लोक्सोमले ब्यान्ड भर्सेस ब्रान्ड बृहत् अवधारणा भएको बताए । उनले १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकहरू, जनप्रतिनिधि लगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताए ।, यो समाचार आर्थिक अभिायन दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्