Logo
Logo

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा भ्रष्टकै रजगज


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पु¥याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित संम्पत्ति शुद्धिकरण अनुसन्धान विभागकै कर्मचारीहरुबिरुद्ध छानबिन गर्नुपर्ने परिस्थिति निर्माण हुँदै गएको छ । गुण्डागर्दीबाट समाजमा त्रास फैलाई अथाह सम्पत्ति आर्जन गर्ने गुण्डानाइके गणेश लामा, दीपक मनाङ्गेलाई विभागले सफाइ दिइसकेको छ ।

विभागका कर्मचारीले पछिल्लो समयमा उजुरीमा बार्गेनिङ गर्ने र असुली गरी सफाइ दिनेमा परिणत भएको छ । स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण विभागलाई असुली केन्द्र बनाउने र गैरकानुनी आर्जन गर्नेमा एक नम्बरमा उपसचिव विनोद लामिछाने हुन् । उनको काम नै गुण्डानाइकेदेखि विभिन्न ब्यक्तिका बिरुद्ध परेका उजुरीमा बार्गेनिङ गर्ने हुँदैआएको छ । केपी ओली प्रधानमन्त्री हुनुअघि निर्देशक लामिछाने विभागको बजेटबाट विश्वका प्रायः सबै देश घुम्न भ्याइसकेका थिए । प्रधानमन्त्री ओलीले विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका छन् । सरकारले आर्थिक मितब्ययिताको नीति ल्याएर अनावश्यक विदेश भ्रमणमा रोक लगाएपछि उनी विदेश जान पाएका छैनन् । गैरकानुनी सम्पत्ति छानबिन गर्ने विभागका निर्देशक लामिछानेले नै डनदेखि विभिन्न उजुरीकर्तासँग मोलमोलाई गरी करोडौं सम्पत्ति आर्जन गरेको आरोप छ । उनले उजुरीमा मोलमोलाई गरी काठमाडौं उपत्यकाको धेरै ठाउँमा जग्गा खरिद गरेका छन् । तर आफ्नो नाममा नराखी अरुकै नाममा खरिद गरेको स्रोतको दाबी छ । उनको असुली टिमका नायबसुब्बा प्रकाश सापकोटाले नै काठमाडौंमा २ वटा घर निर्माण गरेको आरोप छ ।

३१ असार २०६८ मा सम्पत्ति शुद्धिकरण विभागको स्थापना भएको हो । ७ बर्षको बीचमा विभागमा १० महानिर्देशक भइसकेका छन् । राजस्व समूहका उपसचिव लामिछानेको हैकम नमाने षडयन्त्र गर्ने हुनाले विभागमा महानिर्देशकका रुपमा कोही जानै नमान्ने अवस्था छ । पछिल्लो पटक जीवनप्रकाश सिटौलामात्र हुन्, जो २ बर्ष ५ महिना टिके । उनी २०७३ असोज १७ मा विभागमा सरुवा भई २०७५ फागुन अन्तिममा १ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएका छन् । विभागको महानिर्देशकमा रुपनारायण भट्टराईलाई पठाउने तयारी छ । प्रधानमन्त्रीकै जोडमा उनी विभागमा जाने भएका हुन् ।

समाचार स्रोतका अनुसार विभागमा महानिर्देशक नटिक्नुको मुख्य कारण लामिछाने नै भएको बताइन्छ । उपसचिवको इशारामा नाच्नुपर्ने महानिर्देशक दामोदर रेग्मी २ महिनामै त्यहाँबाट हिंडेका थिए । उनी २०७२ माघ ४ मा विभागमा महानिर्देशक भएका थिए । २०७३ बैशाख २४ मा सरुवा भएका थिए । उनीअघिका महानिर्देशक केवल भण्डारी करिब १२ महिना टिकेका थिए । रेग्मीपछिका महानिर्देशक किशोरजंग कार्की पनि ४ महिनामै बाहिरिएका थिए ।

उनले विभागमा परेका उजुरीमा मोलमोलाई गर्नेदेखि एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ(एपीजी)को २ पटक कार्यक्रम गर्दा करोडौं रुपैयाँ भ्रष्टाचार गरेका छन् । एपीजीको २ पटक होटल सोल्टीमा भएको कार्यक्रममा ५८ देशको सहभागिता थियो । त्यस कार्यक्रमको कमिसनको भागबण्डा अर्थमन्त्रालयमा राष्ट्रबैंकबाट सम्पत्ति शुद्धिकरण हेर्न बसेका हरि नेपालसमेतलाई गुमराहमा पार्दैआएका छन् । तिनै हरि नेपाल र लामिछानेको गठजोडमा विदेश भ्रमणमा पनि उनीहरुमात्र जाने गरेको आरोप छ ।

सिटौला उनले भनेअनुसार चल्ने भएकाले उनीमात्र लामो समय टिक्न सफल भएका हुन् । निर्देशक लामिछाने उपममहानिर्देशकको कार्यकक्षमा बस्ने गर्दछन् । उनको कार्यकक्ष छुट्टै बन्द गरेर राखेका छन् । २ उपमहानिर्देशकको दरबन्दी भएको विभागमा गजेन्द्र ठाकुर एयरपोर्ट भन्सार कार्यालयको प्रमुखमा सरुवा भएपछि एकमात्र छन् । त्यही ठाकुरको कार्यकक्ष निर्र्देशक लामिछानेले प्रयोग गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्