Logo
Logo

सरकारी रिपोर्ट नै भन्छ—अर्थमन्त्रीको नेतृत्वमा अर्थतन्त्र ओरालो लाग्दै छ


- दृष्टि न्युज/संवाददाता



सरकारको केन्द्रिय वैंकले यस आर्थिक वर्षको ८ महिनामा नेपालको अर्थतन्त्रको स्थिति सम्वन्धी रिपोर्ट सार्वजनिक गरेकोछ । यस रिपोर्टले नेपाली अर्थतन्त्र विगतमा भन्दा पनि ओरालो लागेको देखाएकोछ ।

चालु आर्थिक वर्षको पहिलो आठ महिना अर्थात ०७५ श्रावण देखि फागुण महिना सम्ममा व्यापार घाटा ८८७ अर्ब पुगेको छ । यो भनेको गत वर्ष भन्दा २४.५ प्रतिशत वढी हो । यही गतिमा व्यापार घाटा वढ्ने हो भने यस वर्षमा नेपालको कूल वजेट भन्दा पनि वढी व्यापार घाटा हुने देखिन्छ ।

नेपालको यस वर्षको वजेट १३१५ अर्ब छ । व्यापार घाटा यही गतिमा अर्थात महिनाको करीव १११ अर्ब हुने हो भने वर्षमा करीव १३३२ अर्ब रुपैया व्यापार घाटा हुनेछ । अर्थमन्त्रीले निर्यात वढाउने र आयात घटाएर व्यापार घाटा घटाउने जतिसुकै नारा दिएपनि त्यो लागु नभएको प्रष्ट भएकोछ । व्यापार घाटा वढ्नु भनेको नेपालको रकम वाहिर जानु हो र नेपाल केवल विदेशी वस्तुको वजार वन्न थाल्नु हो । यो भनेको नेपालमा उद्योगको विकास नभएको प्रमाण हो ।

नेपालको सेवा आय घाटा गत वर्षको पहिलो आठ महिनामा २ अर्ब रहेकोमा यस वर्षको आठ महिनामा १२ अर्ब पुगेकोछ ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यस अवधीमा ३८.३ प्रतिशतले घटेको छ । गत वर्ष सो अवधीमा केवल ५ प्रतिशतले मात्रै घटेको थियो । यसको अर्थ रेमिटेन्सको भरमा अर्थतन्त्र चलाउन पनि अब कठीन वन्न थाल्नेछ ।

यस अवधीमा चालु खाता घाटा वढेर १९१ अर्ब पुगेकोछ । गत वर्ष सो अवधीमा १५४ अर्ब थियो ।

यस अवधीमा शोधनान्तर घाटा ५९ अर्ब पुगेको छ । गत वर्ष २४ अर्ब मात्रै थियो ।

यस अवधीमा वैदेशिक लगानी केवल ६ अर्ब ६६ करोड मात्रै भित्रिएको छ । गत वर्ष सो अवधीमा १४ अर्ब २४ करोड भित्रिएको थियो । यस अवधीमा वैदेशिक लगानी ल्याउन निकै हल्ला खल्ला गरिएपनि गत वर्ष भन्दा कम भित्रिएको छ । यस वर्ष केवल आश्वासन मात्रै धेरै आएको छ । यस्तो फोश्रो आश्वासन विगतमा पनि धेरै आएको थियो ।

विदेशी मुद्रा संचिति पनि यस अवधीमा घटेकोछ । ०७५ असार मसान्तमा विदेशी विनिमय संचिति ११०२ अर्ब रुपैया रहेकोमा फागुन मसान्त सम्ममा घटेर १०६१ अर्ब मात्रै रहन पुगेकोछ ।

यस अवधीमा वैंकहरुको निक्षेप संकलन ९ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह १४.६ प्रतिशतले वढेकोछ । यसले गर्दा वैंकहरुमा रकम अभाव हुन गई ऋणमा व्याजदर वढेकोछ । यसवाट उद्योग व्यवसाय तथा विकास काममा समस्या पैदा भएकोछ ।

यस अवधीमा नेपालमा मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । तर भारतमा भने २.९ प्रतिशत रहेको छ । यसको अर्थ हो भारतमा भन्दा नेपालमा महंगी वढेकोछ । यसको अर्को अर्थ— जनता संग ०७५ असार मसान्तमा सय रुपैया रहेकोमा त्यसको त्यो वेलाको मूल्य सय रुपैया नै थियो भने आठ महिना पछि त्यो सय रुपैयाको मुल्य घटेर ९५.८ रुपैया मात्र हुन पुगेको छ ।

सरकारी तथ्यांकले नै नेपाली अर्थतन्त्र ओरालो लागेको स्पष्ट देखाउँछ । अर्थमन्त्रीको नेतृत्वमा नेपाली अर्थतन्त्र ओरालो लगाएर नेकपा सरकारलाई असक्षम सरकार वनाउने काम भने सफलता साथ भइरहेकोछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्