Logo
Logo

नेपालको पहिलो स्याटलाइट अमेरिकाबाट प्रक्षेपण, मौसम र तापक्रमबारे तस्बिर प्राप्त गर्न सकिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ५ वैशाख ।

नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट (भू–उपग्रह) नेपाली स्याट वनु अमेरिकाबाट प्रक्षेपण गरेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समयअनुसार बिहीबार बिहान २ ः३५ मा भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो।

भर्जिनिया राज्यको तटस्थित नासाकाे वालोप्स उडान केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा साे भू-उपग्रह प्रक्षेपण गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले जनाएकाे छ।

भू-उपग्रह आकारमा सानाे भए पनि नेपालकाे इतिहासमा पहिलाेपटक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा भू-उपग्रह पुग्ने भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुसी व्यक्त गरिरहेका छन्।

‘वर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम’ अनुसार नेपालीसहित ३ देशका भू-उपग्रहलाई एकैसाथ अन्तरिक्षमा पठाइएको हो। यस कार्यक्रमअन्तर्गत नेपालसहित श्रीलंका र जापानकाे पनि भू-उपग्रह साेतर्फ पठाइएकाे छ।

नेपालले आफ्नो भू-भागको मौसम, पानी, तापक्रम आदिका बारेमा जानकारी प्राप्त गर्नसक्छ। यसका लागि भू-उपग्रहबाट प्राप्त गरिने तस्बिरहरू स्राेत हुनेछन्। नास्टका अनुसार ती तस्बिरहरु प्राप्त हुनासाथ सञ्चारमाध्यममा समेत प्रकाशित गरिनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भू उपग्रह प्रक्षेपण भएकोमा खुशी व्यक्त गर्दै निर्माणदेखि प्रक्षेपणसम्ममा सहभागी व्यक्ति र निकायलाई धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस्