Logo
Logo
दृष्टिकोण

अभागीलाई खानेबेला रिस उठ्छ



बूढापाकाहरु भन्थे– ‘अतिले खति गर्छ ।’ नभन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक जीवनमा यो कुरा लागू भयो । राजनीति भनेको मजाकको खेल होइन, यो त देश, जनता र समाजप्रति उत्तरदायी जिम्मेवारी हो । जसले सत्तामा पुगेर देश र जनताका लागि राम्रो काम गरेका छन्, तिनीहरु आफू मरेर पनि आफ्नो नाम इतिहासमा लेखाएका छन् । जो राजनीतिमा असफल भएका छन्, तिनीहरु इतिहासमा बाँचेर पनि मरेतुल्य छन् । त्यही अवस्था भोगिरहेका छन्, एमाले अध्यक्ष ओली ।

२०७४ सालमा माओवादीसँग मिलेर चुनाव लड्दा जनतामा अब त केही हुन्छ है भन्ने उत्साह, जोश, जाँगर उत्पन्न भएको थियो । त्यसैले एमाले–माओवादीले होस्टे गरे, त्यसमा नेपाली जनताले हैसे गरे । परिणाम प्रतिनिधिसभामा मात्र होइन, प्रदेश र स्थानीय निकायमा समेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमत प्राप्त सरकार बन्यो । यो नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा बिरलै पाइने अवसर थियो ।

दुर्भाग्य, त्यो अवसरको सदुपयोग नेकपाका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न सकेनन् । र, उनी इतिहासकै नालायक प्रमाणित भए । आफ्नो पार्टीको दुईतिहाइको सरकार ढाल्नेदेखि आफ्नै पार्टी एमाले विभाजन गर्नसमेत उनको भूमिका देखियो । जसले गर्दा ओली नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा कलंक बने । पाँच वर्षका लागि उनलाई नेपाली जनताले दिएको मत खेर गयो । पाँच वर्षसम्म सरकार सञ्चालन गर्ने जिम्मेवारीबाट उनी च्युत भए ।

यसको पछाडि के–के कारण छन् भन्नेतिर ओलीले अहिलेसम्म समीक्षा गर्न चाहेका छैनन् । बालुवाटारबाट बालकोट पुगेका उनीले अझै होस् हराएका छन् । उनलाई उनका कार्यकर्ताले लोकतान्त्रिक गणतन्त्रको प्रधानमन्त्रीबाट मल्लकालीन राजाको स्थानमा पुर्याएका छन् । मल्ल राजाले पनि नदेखेको सिंहासनमा उनलाई राखेर उनी मल्ल राजाभन्दा ठूला मान्छे हुन् भन्दा उनी दंग छन् । यो नै ओलीको पतन हो ।

कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ता सिद्धान्त, विचार र फलामे अनुशासनप्रति प्रतिबद्ध हुन्छन् । कम्युनिष्ट पार्टीका लागि यो पहिलो शर्त हो । तर, ओलीले कम्युनिष्टको खोल ओढेर अहिले जे जस्ता हर्कत देखाइरहेका छन्, त्यसलाई नेपाली जनताले क्षमा दिने छैनन् । किनभने, नेपाली जनता सोझा, इमान्दार छन्, उल्लु छैनन् । आगामी निर्वाचनमा प्रतिगामीहरुलाई जनताले धुलो चटाएर देखाइदिनेछन् ।

एकतामा बल हुन्छ, विभाजनमा बल हुन्न भन्ने कुरा नेकपा एमालेले आफ्नै इतिहासमा भोगेको कुरा हो । २०५४ सालमा एमालेबाट वामदेव गौतम फुट्दा नेपाली काँग्रेसले त्यसको फाइदा उठायो । अहिले नेकपा विभाजन हुँदा प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टीहरुको १७६ मत हुँदा नेपाली काँग्रेसले फाइदा उठायो । अब २०७९ सालमा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा कम्युनिष्ट पार्टी तीन टुक्रामा विभाजित हुनेछन् । त्यस्तो अवस्थामा एमालेले पाउने परिणाम भनेको ‘शून्य’ नै हो ।

इतिहासको कमी कमजोरी मूल्यांकन नगरी दुईतिहाइको ‘ह्याङओभर’ले खुट्टा लर्बराएका ओलीको आगामी निर्वाचनमा पतन निश्चित छ । तर, उनी अझै भन्दैछन्, बहुमत ल्याएर फेरि शक्तिशाली प्रधानमन्त्री बन्छु ।’ मनको लड्डु घिउसँग खाने’ भनेको यही हो । नेपालीमा एउटा उखान छ, ‘अभागीलाई खानेबेला रिस उठ्छ रे …।’

प्रतिक्रिया दिनुहोस्