Logo
Logo

हामी एक महिनाभित्र सरकार बनाउँछौं



काठमाडौं । नेकपा एमाले विभाजनको असर सबैभन्दा पहिले प्रदेश १ मा पर्ने देखिन्छ । विपक्षीको तयारी हेर्दा एक महिनाभित्र प्रदेश १ मा एमाले नेतृत्वको सरकार ढल्नेछ । नयाँ सरकार गठनबारे विपक्षीको तयारीबारे नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ संसदीय दलका नेता तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोसँग गरिएको ‘सटीक संवाद’ प्रस्तुत छः– एमाले विभाजनपछि प्रदेश १ को सत्ता राजनीति कसरी अगाडि बढ्दै छ ?

एमाले विभाजन भए पनि संख्यात्मक रुपमा को कता लाग्ने ? भन्ने टुंगो लागिसकेको छैन् । हिजोको दिनसम्म प्रदेश १ मा माधव नेपाल समूहमा झण्डै १९/२० सांसद हुनुहुन्थ्यो । एमाले विभाजन भइसकेपछि उहाँहरूको रोजाई अझै टुंगो लागेको छैन । तर यो कुरा निश्चित भइसकेको छ कि, प्रदेश १ सरकार अल्पमतमा परिसकेको छ । सांसदहरूले आफ्नो दल रोजिसकेपछि वैकल्पिक सरकार निर्माणको प्रक्रियामा सुरु हुनेछ । नयाँ सत्ता समीकरण कसरी अगाडी बढछ ? भन्ने कुरा चाहिँ पाँच दलीय गठबन्धनले गर्ने निर्णयमै निर्भर हुनेछ ।

– वैकल्पिक सरकार निर्माणको सवालमा प्रदेश १ मा तपाईं विपक्षी दलको तयारी के हो ?
प्रदेश १ सरकार अल्पमतमा पर्ने निश्चित भइसकेपछि स्वभाविक पाँच दलीय गठबन्धनले नयाँ सरकार बनाउने छ । हाम्रो पार्टी माओवादी केन्द्रले स्वभाविक सरकारको नेतृत्व दावी गर्नेछ । पाँच दलीय गठबन्धनमै रहेको प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पनि दावी हुनु स्वभाविक हो । तर, हामीबीच एउटा साझा सहमति के हो भने, यो सरकारलाई बिदा गर्ने र पाँच दलीय गठबन्धनको सरकार बनाउने नै हो । हामी सबैका बीचमा नयाँ सरकार बनाउनेबारे सहमति भइसकेको छ । त्यसकारण केन्द्रमा गठबन्धनले गर्ने सहमति र निर्णयकै आधारमा हामी प्रदेश १ मा सरकार निर्माणको प्रक्रिया थाल्ने छौं । एमाले विभाजित भइसकेको अवस्थामा सांसदहरूले दल रोजिसकेपछि सरकार निर्माण प्रारम्भ हुनेछ ।

– नयाँ सरकारको मुख्यमन्त्री को हुने ? अर्थात कुन पार्टीले मुख्यमन्त्री पाउँछ ?

मुख्यमन्त्री त संसदीय दलको नेता जो हुनुहुन्छ उहाँले नै पाउने हो । काँग्रेसले पाए, काँग्रेसकै संसदीय दलको नेता मुख्यमन्त्री हुने हो । माओवादी केन्द्रले पाए संसदीय दलको नेता म आफै हो, म नै हुन्छु । अब माधव कमरेडले गठन गर्नुभएको नेकपा एकीकृत समाजवादी पार्टीमा कति जना सांसद आउनुहुन्छ र संसदीय दलको नेता को बन्ने त्यो टुंगो लागेपछि स्वभाविक रुपमा जो हुन्छ उही दावेदार हुन्छ । त्यसकारण पाँच दलीय गठबन्धनले सबै प्रदेशसँगै प्रदेश १ को पनि टुंगो लगाएपछि सोही निर्णयअनुसार हामी अगाडि बढ्छौं । पाँच दलीय गठबन्धनले प्याकेजमा जे निर्णय गर्छ हामी सोही निर्णयका आधारमा सरकार बनाउँछौं ।

– माधव समूहका सांसदहरू मौन रहेकै कारण तपाईंहरू दुविधामा रहनु भएको हो ?

मौन भन्दा पनि उहाँहरूले दल रोज्ने समय नै आइसकेको छैन । दल दर्तासम्बन्धी प्रक्रियाले पूर्णता पाएको छैन । दल दर्ताको प्रक्रिया टुंगो लागेपछि २१ दिनभित्रमा सबै सांसदले कुन दलमा बस्ने भन्ने कुरा रोजिसकेपछि त्यस आधारमा अगाडि बढ्छौं । अहिले त दल दर्ता नभएको अवस्थामा उहाँहरूले दल रोज्ने समय नै आइसकेको छैन । प्रदेश १ को सांसदसमेत रहेका केही साथीहरू केन्द्रीय सदस्य बन्नु भएको छ । केन्द्रीय सदस्यमा नपरेका तल्लो कमिटीमा रहेका साथीहरूले दल दर्ता भइसकेपछि आफ्नो दल रोज्नुहुन्छ । साथीहरूले आफ्नो दल रोजिसकेपछि सरकार निर्माणको प्रक्रिया अगाडि बढ्छ । अहिले नै सरकार निर्माणको प्रक्रिया अगाडि बढेको छैन ।

– पाँच दलीय गठबन्धनलाई भाग लगाउँदा माधव समूहले प्रदेश १ पाउने सम्भावना कति ?

हामी त त्यसमा सहमत छौं । बागमती प्रदेश अझै खाली छ । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुनुभएको छ । उहाँले नेकपा एकीकृत समाजवादी पार्टी रोज्नुभयो भने उहाँलाई नै मुख्यमन्त्री कायम राख्न सकिन्छ । उहाँले एकीकृत समाजवादी रोज्नुभएन, एमाले मै रहनुभयो भने उहाँलाई निरन्तरता दिन सक्दैनौं ।

अर्को कुरा सुदुरपश्चिममा पनि सरकारको स्वरूप कस्तो हुने हो भन्न सक्ने अवस्था छैन । अब संघीय र प्रदेश सरकारको विषयहरू प्याकेजमै सहमति हुने भएकाले नवगठित एकीकृत समाजवादी पार्टीलाई सम्मानजनक जिम्मेवारी दिने विषयमा कुनै दुई मत छैन । त्यसकारण एकीकृत समाजवादीको भागमा प्रदेश १ को मुख्यमन्त्री पर्यो भने हामी सहर्स स्वीकार गर्न तयार छौं । त्यसमा हाम्रो कुनै रिजरबेसन रहँदैन ।

प्रतिक्रिया दिनुहोस्