Logo
Logo

गयल शिक्षकको तलब कट्टा


- दृष्टि न्युज/संवाददाता


काभ्रेपलाञ्चोक, ६ वैशाख (रासस) ः नयाँ शैक्षिक सत्रदेखि तेमाल गाउँपालिकाले निवेदन र सूचना बिना बिदामा बस्ने शिक्षकको तलब कट्टा गर्नेभएको छ । नयाँ शैक्षिक सत्रदेखि यस्तो नियम लागू गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन लामाले बताउनुभयो । उहाँका अनुसार गत शैक्षिक सत्रमा गरिएको अनुगमनका आधारमा यस्तो नियम बनाइएको हो ।

लामाले भन्नुभयो, “शिक्षक बिदामा बसेको प्रधानाध्यापकलाई समेत थाहा नहुनु गम्भीर लापर्वाही हो, अब निवेदन र सूचना नदिई बस्ने शिक्षकको तलब कट्टा गर्छौं ।” उहाँले सूचना प्रकाशित गरी विद्यालयभित्रको अनियमितता र शिक्षकको लापर्वाहीबारे अभिभावकले गाउँपालिकामा उजुरीसमेत गर्नसक्ने प्रावधान बनाइएको बताउनुभयो ।

गत शैक्षिक सत्रमा गाउँपालिकाभित्र गरिएको अनुगमनका क्रममा बिदामा बसेको शिक्षकले विद्यालयमा निवेदन नदिएको, बिदा बसेको शिक्षकबारे प्रधानाध्यापकलाई थाहा नभएको, बिदामा बसेको दिनको हाजिर गरिएको र प्रअ समेतले आफूखुशी विद्यालय आउने र बिदा नजनाउने गरेको पाइएको लामाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अब प्रअले शिक्षक विद्यालय आएको–गएको समय, बिदाको निवेदन र हाजिरीमा बिदा पनि जनाउनु पर्नेछ ।” प्रत्येक महीनाको अन्त्यमा शिक्षकको हाजिरकापी तथा शिक्षक बिदा बसेको निवेदनको प्रतिलिपि गाउँपालिकामा बुझाउनुपर्ने नियम पनि बनाइएको छ ।

हाजिरीअनुसार प्रअले गाउँपालिकाले बनाइएको छुट्टै फारम भर्नुपर्ने त्यसपछि मात्रै शिक्षकको तलब पठाइने लामाले बताउनुभयो । “अब शिक्षकको हाजिरी र बिदा निवेदनको आधारमा तलब पठाइन्छ, जसले शिक्षक अनुशासनमा बस्ने र गुणस्तरीय शिक्षामा मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।”

माविसम्मका ४३ वटा विद्यालय रहेको तेमाल गाउँपालिकामा करीब तीनसय शिक्षक कार्यरत रहेका छन् । गाउँपालिकाले वैशाख महीनादेखि शिक्षकको बैंक खातामा प्रत्येक महीना तलब पठाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्