Logo
Logo

प्रधानमन्त्री ओली बुटवल र कावासोती जाँदै, शाश्वतधाम अवलोकन गरी फर्किने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं , ७ वैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बुटवल र पूर्वीनवलपरासी कावासोती जाँदै छन्। उनी त्यहाँ आयोजना हुने तीनवटा कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिका–१ मा रहेको ऐतिहासिक जितगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम छ। तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको सालिक नौ फिट उचाइको छ। सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो । नेपाली फौजसँग लडाइँ हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकाले कर्णेल थापाको सालिक दक्षिण तर्फ फर्काएर निर्माण गरिएको छ ।

सालिक अनावरणपछि आयोजित आमसभालाई प्रधानमन्त्री ओलीले सम्बोधनसमेत गर्नेछन् ।कार्यक्रम बुटवल उपमहानगरपालिकाले आयोजना गरेको हो। यस्तै, २ः४५ बजे नवलपरासीमा रहेको चौधरी उद्योग ग्रामभित्र रहेको शास्वतधामको अवलोकन गरेर काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्