Logo
Logo

एडीबीले मेलम्ची आयोजनाको अध्ययन गर्ने



सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको अध्ययन गर्न एशियाली विकास बैंक (एडीबी)को टोली आउने भएको छ । आयोजनाको माथिल्लो भूभागको भौगर्भिक अध्ययन गर्न एशियाली विकास बैंकको विज्ञ टोली आउने भएको हो ।

टोलीले भ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको अध्ययन गर्नेछ । खानेपानी मन्त्रालयले उक्त भूभाग जोखिमयुक्त रहेको भन्दै एडीबीलाई अध्ययन गरिदिन अनुरोध गरेको थियो । खानेपानी मन्त्रालयका अनुसार यताबाट पठाइएको टीओआर स्वीकृत भएको पत्र एडीबीले पठाइसकेको छ । एडीबीको टोली अध्ययन गर्न आउने बाटो खुलेको मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताए । ‘बढीमा १ साताभित्र विज्ञ टोली आइपुग्नेछ,’ उनले भने, ‘त्यसपछि मेलम्ची खानेपानी आयोजनाको अध्ययन हुनेछ ।’

हाल भ्रेमाथाङको भौगर्भिक अवस्थाबारे इसिमोडलगायत संस्थाले आआफ्नो हिसाबले अध्ययन गरिरहेका छन् । तर, खानेपानी मन्त्रालयले भने एडीबीबाटै अध्ययन गराउन खोजेको हो । एडीबी मेलम्चीको खानेपानी आयोजनाको विकास साझेदार संस्था पनि हो ।

मेलम्चीमाथिको भूभागमा वर्षौंदेखि हिमपहिरोले ल्याएर थेग्रिनी जम्मा गरेको देखिएको छ । हाल त्यही थेग्रिनी बगेर मेलम्ची आयोजनालाई क्षति गरिरहेको छ । मेलम्ची नदीमा बाढी आउँदा हेडवक्र्स, दुईओटा अस्थायी सुरुङ र मोटरेबल पुलमा क्षति पुगेको छ । उक्त क्षति पूर्ति गरी अस्थायी रूपमा खानेपानी काठमाडौं झार्न अढाइ अर्ब खर्च लाग्ने कार्ययोजना खानेपानी आयोजनाले मन्त्रालयमा पेश गरेको छ ।

गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा लगातार बाढी आइरहेको छ । उक्त बाढीमा माथिल्लो भागमा रहेको थेग्रिनी बगेर आइरहेको छ । त्यसले मेलम्ची खानेपानी आयोजना स्थललाई क्रमशः क्षति पुर्‍याइरहेको छ । बाढीले हेडवक्र्समै क्षति पुगेको र आंकलन गरेभन्दा ठूलो क्षति पुगेकाले परियोजना कहिले सम्पन्न हुन्छ यकिन हुन नसकेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।, यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्