Logo
Logo

सरकारद्वारा राष्ट्रिय भूमि आयोग गठन



काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरेको छ । भदौ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको हो ।

नियुक्त भएका निराैला कांग्रेसनिकट नेपाल शिक्षक संघका पूर्वअध्यक्ष हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार आयोगको उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरिएको छ । दुवै जनाले बुधार सपथ लिएको समेत बुझिएको छ ।

यसअघि सरकारले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।

संवैधानिक प्रावधान अनुसार सोही नामको आयोग गठन गर्न पुनः नमिल्ने भएपछि आयोगको नाम राष्ट्रिय भूमि आयोग गठन गरेको हो । आयोग गठन भएसँगै अब भूमिहीनले भूमि पाउने अपेक्षा गरिएको छ ।

यसअघि गठन भएको देवी ज्ञवाली नेतृत्वको आयोगले सबै स्थानीय तहसँग सहकार्य गरेर भूमिहीनको लगत संकलन गरेको थियो । सोही संकलन गरेको आधारमा आयोगले काम अघि बढाउने मन्त्रालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले आयोग भंग गरेर सरकारले भूमिहीनमाथि अन्याय गरेको आरोप लगाएको थियो । यससम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्