Logo
Logo

बहुपति प्रथामा बन्यो ‘टुल्की’ (टिजरसहित)



काठमाडौं । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को टिजर तथा फस्र्टलुक सार्वजनिक गरिएको छ । द पाल्म गु्रप प्रालिद्वारा निर्माण गरिएको चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको हो ।

डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई ’टुल्की’ मार्फत देखाइएको निर्माता शेखर लामाले बताए ।

‘नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि चलचित्र बनेको छैन, टुल्की पहिलो चलचित्र हो, निकै जोखिम मोलेर खिचिएको यस चलचित्रका लागि झन्डै चार वर्ष अनुसन्धान नै गरेँ,’ निर्माता लामाले भने, ‘बहुपति प्रथामा घरका कुनै एक भाइले विवाह गरेपछि अन्य दाजुभाइले विवाह गर्नुपर्दैन, जुन भाइले पहिला विवाह गरे तीनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रथा छ ।’
चलचित्रमा आरपी कर्माचार्य र शेखर लामाको लगानी रहेको छ । चलचित्रलाई विभिन्न फेस्टिभलमा सहभागी गराए पश्चात मात्र सिनेमा घरमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लोमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुखान्त कथा वस्तुलाई उजागर गरिएको लामाको भनाइ छ ।

चलचित्रमा बहुपति प्रथामा मात्र सीमित नभई पश्चिम नेपालमा कुप्रथाको रूपमा व्याप्त छाउपडी प्रथालाई पनि उजागर गर्न खोजिएको निर्माण पक्षको भनाइ छ ।चलचित्रको छायांकन र निर्देशन देवजंग थापाले गरेका हुन् ।

चलचित्रमा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्