Logo
Logo
एमालेको दशौं महाधिवेशनः

ओली, पोखरेल र पौडेलको प्रतिवेदनमा भुसालको लिखित फरक मत (प्रस्तावसहित)

एमालेभित्र दुई लाइन संघर्ष र बहस सुरु



फाइल फोटो

काठमाडौं । नेकपा एमाले भित्र दशौं महाधिवेशन केन्द्रीत बहस सुरु भएको छ । महाधिवेशन अघि एमालेले विधान महाधिवेशन गर्दैछ । विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, विधान लगायतका प्रतिवेदनमा छलफल सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक जारी छ । आईतबारदेखि सुरु भएको स्थायी कमिटी बैठक आज पनि जारी नै छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलले विधान मस्यौदा प्रस्ताव गरेका छन् । यस अघि नै स्थायी कमिटी बैठकले रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरिसकेको छ ।

अध्यक्ष, महासचिव र उपमहासचिवको प्रस्तावमाथि छलफल उपमहासचिव घनश्याम भुसालले भने फरक मत राखेका छन् । उपमहासचिव भुसालले ति प्रतिवेदन तथा प्रस्तावमाथि आठ पेज लामो फरक मत राखेपछि पुनः एमालेभित्र दुई लाइन संघर्ष एवं बहस सुरु भएको छ ।

संगठनात्मक प्रस्तावमा उनले ‘समृद्धि र समाजवादको बाटो’ शीर्षमा बेग्लै मत राखेका हुन् । प्रस्तावमा उनले ‘जनताको बहुदलीय जनवाद’माथि छलफल हुन छाडेको भन्दै घनीभूत छलफलको माग गरेका छन् ।

माओवादी केन्द्रसँगको एकताका बेला दुई अध्यक्षबीच भएका गोप्य सहमति र आलोपालो अध्यक्ष बन्ने व्यवस्थाप्रति आलोचना गर्दै यही कारण एकता नटिकेको भुसालको फरक मतमा उल्लेख छ । उनले अब पार्टीको कार्यदिशा र संगठनबारे व्यापक छलफल हुनुपर्नेसमेत प्रस्ताव गरेका छन् ।

‘पार्टीको कार्यदिशा र संगठन, खासगरी तिनको संगतिबारे छलफल गरौं । त्यसपछि नवौँ महाधिवेशन, एकता प्रक्रिया र पार्टी विभाजनसम्मका घटनाबारे छलफल गरौँ’ प्रस्तावमा भुसालले भनेका छन्, ‘त्यसले हामीलाई राजनीतिक प्रतिवेदन पूर्ण बनाउन, त्यसका आधारमा संगठनात्मक प्रस्ताव तयार गर्न र तिनमा उल्लेखित राजनीतिक र सांगठानिक जिम्मेवारी पूरा गर्नसक्ने संगठनलाई व्यवस्थित गर्न सक्ने विधान बनाउन बाटो देखाउने छ ।’

भुसालले जबजबारे थप छलफल गर्नुपर्ने प्रस्ताव गरेसँगै एमालेमा फेरी चर्को बहस सुरु भएको छ । जबजले उल्लेख गरेभन्दा धेरै बिषय पार्टीले अभ्यास गरिसकेको प्रस्तावमा उल्लेखछ ।

अब पनि जबजले कार्यक्रमका रुपमा पार्टीलाई मार्गदर्शन गर्छ भन्नु अतिश्योक्ति हुने बताउँदै उनले भनेका छन्, ‘मदन भण्डारीले नयाँ जनवादी कार्यक्रममा १४ वटा विशेषता थपेको हुँदा त्यसलाई जनताको बहुदलीय जनवादी कार्यक्रम भन्नु पर्छ भन्ने भुसालको मत रहेको छ । उनले भने– ‘वास्तवमा जनताको बहुदलीय जनवादले उल्लेख गरेभन्दा धेरै विषय हामीले अभ्यास गरिसकेका छौँ ।’

यदि सिद्धान्तको रूपमा यसले पार्टीलाई मार्गदर्शन गर्छ भन्ने नै हो भने आफूले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको ‘लोकतान्त्रिक बाटोबाट श्रमजीवी वर्गको पक्षमा समाजको रूपान्तरण’ भन्ने परिभाषाका आधारमा जबजको व्याख्या गर्नुपर्ने उपमहासचिव भुसालको मत रहेको छ ।

‘जनताको बहुदलीय जनवादबारे हामीले मदन भण्डारीको देहान्तपछि छलफल गर्न छोडेका छौँ । उहाँले जनताको बहुदलीय जनवादलाई कार्यक्रमको रूपमा अगाडि सार्नु भएको थियो । छैटौँ महाधिवेशनमा त्यसलाई सिद्धान्त निर्माणको कुनै आधार नै नदिईकन सिद्धान्त भनियो’ उपमहासचिव भुसालले भने, ‘सातौँमा नयाँ केही गरिएन । आठौँ महाधिवेशनमा जनताको बहुदलीय जनवादका विशेषता के–के हुन् भनेर क. झलनाथ खनालले लामो व्याख्या गर्नु भयो तर सिद्धान्तको रूपमा त्यसको पुष्टि गर्नु भएन । त्यसका विशेषताहरूलाई क. वामदेव गौतमले पनि व्याख्या गर्नु भएको छ । तर वस्तुतः त्यसबारे आवश्यक छलफल भएकै छैन ।’

एमालेले असोज १५, १६ र १७ मा विधान महाधिवेशन काठमाडौंमा गर्दैछ । एमालेले पहिलोपटक नेतृत्व चयन र नीति निर्णय गर्ने छुटाछुटै महाधिवेशन गर्दैछ । विधान महाधिवेशमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान प्रस्तुत हुनेछ । यस अघि ९ औं महाधिवेशनले विधि विधान र नेतृत्व छनोटका लागि फरक–फरक महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

यस्तो छ उपमहासचिव भुसालको फरक मत–

प्रतिक्रिया दिनुहोस्