Logo
Logo
साफ च्याम्पियनसिप

उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल



काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (शनिबार) नेपाल र भारत भिड्दै छन् । माल्दिभ्समा जारी फाइनल खेल मालेस्थित राष्ट्रिय रंगशालामा हुँदैछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । नेपालले दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

नेपाल साफ इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । नेपालले यस अघि सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रँदै छ । साफमा भारत सबैभन्दा सफल टिम हो । हालसम्म ७ पटक उपाधि जितिसकेको भारत आठौं पटक उपाधि उचाल्ने योजनामा छन् ।

‘हाम्रो लागि ठूलो दिन हो । हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिनेछौं। हामी गोर्खाली जसरी खेल्नेछौं,’ नेपाली टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङले भने ।

जारी साफ अन्तर्गत लिग चरणमा भारतले नेपाललाई १–० ले हराएको थियो । भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

भारतविरुद्ध नेपालका विंगर तथा मुख्य खेलाडी अन्जन विष्टले खेल्ने छैनन् । दुई पहेलो कार्डको कारण उनले फाइनल खेल गुमाउने भएको छन् । यस्तै मिडफिल्डर पुजन उपरकोटीको पनि चोट लागेको कारण उनले फाइनल खेल्ने सम्भावना कम रहेको छ ।

यो पनि

प्रतिक्रिया दिनुहोस्